विदेशी विनिमय सञ्चिति बढ्यो, वैदेशिक लगानी भने निकै घट्याे

 बैशाख २७, २०८० बुधबार १५:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा चालु खाता घाटामा सुधार आएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार अघिल्लो आर्थिक वर्षको नाै महिनामा पाँच खर्ब १० अर्ब रुपैयाँले घाटामा रहेको चालु खाता अहिले झन्डै ५२ अर्ब रुपैयाँले मात्रै घाटामा छ ।

यस्तै वैदेशिक लगानीमा भने ठूलो कमी आएको छ । गएको वर्षको नौ महिनामा १६ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएकोमा अहिले जम्मा दुई अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । यस्तै विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ । 

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गएको चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत विन्दुले बढी देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च एक खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन छ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले, कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया