कालीमाटीमा प्याज भेट्न मुश्किल, अन्त बजारमा छोइनसक्नु महंगो

 जेठ ३१, २०८० बुधबार ८:४५:८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

दुई हप्ता अघिसम्म प्याज बेच्न भ्याइनभ्याइ हुने कालीमाटीका व्यापारी मनोज गौतम यतिबेला फुर्सदमा हुनुहुन्छ । बजेटले आलु प्याजमा भ्याट लगाउने निर्णय गरेपछि विरोधस्वरुप व्यापारीले प्याजको आयात गरेका छैनन् । प्याजका बोराले व्यापारीको अनुहार नै नदेखिने चाङ हुने कालीमाटी थोक तरकारी बजारको प्याजका स्टलहरु यतिखेर खाली छन् । 

सरकारले आलु प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि व्यापारी तथा उपभोक्ता दुवैलाई समस्या रहेको व्यापारी गौतम बताउनुहुन्छ । ‘आलु प्याज भनेको कुहिएर जाने चिज हो । यसको हिसाब किताब राख्न पनि गाह्रो छ,’ उहाँ भन्नुहुन्छ, ‘यस्तो वस्तुमा कसरी भ्याट लाग्छ ? हामीले स्टक मिलाउन पनि सकिँदैन । यसलै अहिले कालीमाटी मण्डीमा प्याज छैन ।’

कालीमाटी तरकारी बजारका थोक व्यापारीले भारतबाट प्याज आयात नगरेपछि बजारमा प्याज पाउनै मुश्किल छ । आलु भने यतिखेर उत्पादको सिजन भएको र स्थानीय उत्पादनले अझै केही समय माग धान्ने देखिन्छ । तर, भारतबाट आयात नभएपछि खुद्रा बजारमा आलु र प्याज दुवैको भाउ बढेको छ । कालीमाटी तरकारी बजार विकास समितिको मूल्य सूचीमा जेठ १५/१६ गते ४० रुपैयाँ किलोको रातो आलु जेठ ३० गते ४५ रुपैयाँ तोकिएको छ । तर, खुद्रा बजारमा भने आलुको भाउ ६० रुपैयाँ किलो छ । 

समितिको मूल्य सूचीमा जेठ १५/१६ गते ३५ रुपैयाँ किलो रहेको प्याजको भाउ लगातार बढेको देखिन्छ । १७ गते ४० तथा १८ गते ४५ रुपैयाँ किलो रहेको प्याज १९/२०/२१ गते ५२ रुपैयाँ थियो । त्यसपछि २२ गते ६० रुपैयाँ किलो रहेको प्याजको मूल्य २३ गते पछाडि भने समितिले समावेश गर्ने गरेको छैन । अहिले खुद्रा बजारमा प्याजको भाउ एक सय रुपैयाँभन्दा माथि छ । 

काठमाण्डौ कालीमाटीको खुद्रा तरकारी बजारमा गएको ३२ वर्षदेखि तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पौडेल तरकारीमा सामान्य मूल्य तलमाथि भए पनि अहिले प्याजको भाउ भने धेरै नै बढेको बताउनुहुन्छ । 

उहाँको पसलमा मूल्य बढ्नु अघि दैनिक २५/३० किलो बिक्री हुँदै आएको प्याज अहिले भने दिनको १० किलो बिक्री हुन्छ । पौडेल भन्नुहुन्छ, ‘१५ दिन अगाडि किलोको ३०/३५ रुपैयाँमा बेचेको प्याज अहिले ८५/९० रुपैयाँ पुगेको छ ।’

चन्द्रागिरी नगरपालिका–५ की संगीता बलामी गृहिणीसँगै होटल व्यवसाय पनि गर्नुहुन्छ । धेरै परिमाणमा चाहिने तथा अलि सस्तो भएका कारण पनि उहाँ कालीमाटी तरकारी बजारमै तरकारी किन्न आउनुहुन्छ । 
उहाँले होटल व्यवसाय सञ्चालन गर्नु भएको वाफलमा अहिले प्याजको मूल्य एक सय १० रुपैयाँ छ । ‘वाफलतिर प्याज एक सय १० रुपैयाँ किलो भन्छ त्यो पनि सानो सानो । राम्रो पनि छैन यसकारण यहाँ कालीमाटी आएको । यहाँ भने ९० रुपैयाँ किलोमा पाइयो’ उहाँले भन्नुभयो ।

आलु प्याजको भाउ बढ्दा आम नागरिकको भान्सा महँगिएको छ । दैनिक प्रयोगका लागि चाहिने आलुमा दुई गुना तथा प्याजमा तीन गुना मूल्य बढ्दा महँगीले थलिएका उपभोक्तालाई यसले झन मारमा पारेको छ । बजारमा भइरहेको आलु प्याजको अस्वभाविक मूल्य वृद्धिपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन पनि थालेको छ । 

विभागका प्रवक्ता होमनाथ भट्टराई प्याज भारतको नासिकबाट आउने र असिनापानीले भिजेका कारण व्यापारीले ल्याउन कम गरेको र यही बीचमा बजेटमा भ्याटको कुरा उठेपछि ल्याउन बन्दै गरेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘अहिले कालीमाटीमा प्याजको स्टक छैन । खुद्रा बजारमा दुई चार बोरा देखिन्छ तर पनि खरिद बिल देखाउन नसकेको साना व्यापारीलाई साना कारबाही भएको छ । आएको चिजलाई अनुचित मुनाफा नलिइ बेच्न पनि हामीले निर्देशन दिएका छौँ ।’

सरकारले आलु प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि अहिले व्यापारीले विरोधस्वरुप भारतबाट प्याज आयात गरेका छैनन् । आलु भने स्थानीय बजारका उत्पादन नै कालीमाटी थोक बजारमा देखिन्छ । नेपाल कृषिउपज आलु प्याज आयातनिर्यात थोक बिक्रेता संघले आलु प्याजलगायत कृषिजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाएका कारण पेशा व्यवसायीदेखि उपभोक्तासम्म मारमा परेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । 

अहिले आलु प्याज आयात गर्दा कृषि करबापत् भन्सारमा ९ प्रतिशत र अग्रिम आयकर ५ प्रतिशत गरी अहिले नै १४ प्रतिशत तिरिरहेको अवस्थामा भ्याट थप १३ प्रतिशत लाग्दा यसले मूल्य एकदमै बढ्ने संघको भनाइ छ । संघका महासचिव प्रकाश गजुरेल भन्नुहुन्छ, ‘ भ्याटमा जाँदा नाशवान प्रकृतिका आलु प्याज जस्ता तरकारीमा हुने हानी नोक्सानीको भार उसै त मारमा परेका निम्नवर्गीय उपभोक्तमा  पर्न जाने हुँदा यो व्यवहारिक भएन भन्ने हाम्रो भनाइ हो ।’

कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ अघिल्लो हप्तादेखि कालीमाटी तरकारी बजारमा प्याज नआएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सामान्य अवस्थामा ८०–१०० सय टन प्याज भित्रिने गरेकोमा आन्तरिक स्रोतबाट एक/दुई टन भित्रिएको छ । प्याज बजारमा नआएका कारण कारोबार नै भएको छैन ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया