नयाँ बसपार्कबाट मात्रै यात्रु चढाउने र ओराल्ने काम कति व्यावहारिक ?

 असार १, २०८० शुक्रबार ८:३०:५७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको नयाँ बसपार्कबाट प्युठान छुट्ने रात्रि बसको सरसफाइ गरिरहनुभएको छ सहचालक सुशील केसी । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौबाट छुट्ने र काठमाण्डौ भित्रिने सबै यात्रु बसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने निर्णय उहाँलाई ठीक लागेको छ । अन्यत्र धेरै ठाउँबाट टिकट काट्दा धेरै ठाउँमा यात्रुलाई कुरिरहनु पर्ने र समयमै गाडी हिँड्न नपाउने हुँदा उहाँलाई यो निर्णय ठीक लागेको हो ।

उहाँ भन्नुहुन्छ, ‘यो निर्णय एकदमै सही छ । सबै यहाँबाट चढ्दा गाडी कहीँ नरोकिकन समयमै पुर्याउन सकिन्छ । समय खेर जाँदैन । मान्छेहरु चाँडै पुग्न पर्यो भनेर हतार गरिरहेका हुन्छन् । एकै पटक सबैलाई यहीँबाट लिएर हिँड्न पाइयो भने समय जोगिन्छ ।’

काठमाण्डौ धरान चल्ने बसका व्यवसायी फणिन्द्र पुरीलाई पनि काठमाण्डौ महानगरको यो निर्णय ठीक लागेको छ । तर, यो निर्णय कार्यान्वयन कत्तिको हुन्छ भन्नेमा उहाँ शङ्का व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबै गाडी यहीँबाट छुट्ने भन्ने छ । यो निर्णय राम्रो हो । तर, सम्भव छ कि छैन भन्ने कुरा हो ।’

नयाँ बसपार्कको पार्किङ क्षमता ७ सय गाडीको हो । लामो, मध्यम तथा छोटो दूरीका सबै गाडीको हिसाब गर्दा करिब ५ हजार हुन आउने व्यवसायीको अनुमान छ । यसकारण पनि नयाँ बसपार्कबाट सबै गाडी छुट्ने कुरा त्यति व्यावहारिक र सम्भव नभएको उनीहरु बताउँछन् । पूर्व पश्चिम लगायत अन्य ठाउँको गाडीलाई विभाजन गरेर अलग अलग ठाउँबाट छुटाउँदा राम्रो हुने उनीहरुको सुझाव छ । 

यातायात व्वयसायी पुरी भन्नुहुन्छ, ‘सबै गाडीका लागि ठाउँ सानो छ । सानो ठाउँ भएको हुनाले अलिक समस्या हुन्छ कि भन्ने छ । पूर्व जानेलाई अलग्गै । पश्चिम जानेलाई अलग्गै अनि माइक्रोहरुलाई अलग्गै गर्दियो भने सम्भव हुन्छ कि भन्ने हो ।’

काठमाण्डौ काँकडभिट्टा रुटमा चल्ने बसका चालक ज्योति तामाङ महानगरको  निर्णय राम्रो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो लागि त यो राम्रो हो । सरर आयो सरर जान पाइन्छ यो राम्रो छ । हामी स्टाफहरुलाई त सजिलो हो । तर, सामान धेरै हुने यात्रुहरुका लागि भने गाह्रो हुन्छ ।’

यो निर्णयले यात्रुलाई असहज हुने चालक तामाङको कुरामा सहमत हुनुहुन्छ झापा धुलाबारीका घनेन्द्र डाँगी । झापा जानका लागि गाडीको सिटमा बस्नुभएका डाँगीलाई यो निर्णय ठीक लागेको छैन । यात्रुका सामानहरु हुने अनि केटाकेटी, बुढाबुढी पनि हुने हुँदा कलङ्की झर्नुपर्ने मान्छे त्यही गाडीमा त्यहाँ नझरी बसपार्क आएर फेरि कलङ्की जानुपर्ने कुरा चाहिँ उहाँलाई व्यावहारिक लागेको छैन ।

‘यसले यात्रुलाई भने असुविधा हुन्छ । कलङ्की कोटेश्वर आदि ठाउँमा झर्नुपर्ने मान्छे बसपार्क आएर फेरि जाने कुरा भने ठीक भएन,’ उहाँ भन्नुहुन्छ, ‘पैसा पनि दोहोरो खर्च भयो । कतिपय अवस्थामा सामान धेरै हुँदा ट्याक्सी पनि चढ्नुपर्ला त्यसले पनि खर्च बढ्ने भयो । झन् गाह्रो हुने देखियो ।’

काठमाण्डौ महानगरले बसपार्क बाहिरका सबै टिकट काउन्टरलाई हटाउने निर्णय पनि गरेको छ । महानगरको निर्णयसँगै धेरै बाहिर रहेका धेरै टिकट काउन्टर नयाँ बसपार्कमा सरिसकेका छन् । 

नयाँ बसपार्कको काउन्टरमा कोशीपारि पूर्वको गाडी हेर्ने झापा गौरादहका ज्योती सुवेदीबाहिरका सबै काउन्टर हटाएर भित्र राख्दा यहाँका मजदुरलाई कुनै आपत्ति नरहेको बताउनुहुन्छ । बसपार्क भित्रका मजदुरले बाहिरका मजदुरलाई आउन नदिने भन्ने हल्ला पनि फैलिएकोले त्यसमा नपर्न पनि उहाँको आग्रह छ ।

‘सरकारले सबै गाडी यहीँ अटाउने चलाउने उसको कुरा हो । गाडी लगानीकर्ताले गरेको कुरालाई हामीले समर्थन गरेर चलाउने मात्र हो । रिङरोडभरि काउन्टर खोलेर बस्नु भएका हाम्रा साथीभाइको रोजीरोटी पनि नखोसियोस्,’ उहाँ भन्नुहुन्छ, ‘उहाँहरुले पनि यहाँ काउन्टर पाउने वातावरण होस् । यहाँबाट चलोस् । तर, सबैजना अट्नुपर्यो ।  सहज वातावरण होस् ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर नयाँ बसपार्कबाट यात्रु ओराल्ने तथा चढाउने साथै सम्पूर्ण अव्यवस्थित काउन्टर हटाउन महानगरसँग सहमति भएको बताउनुहुन्छ । साथै नागरिकको सुविधाको लागि बीचमा यात्रु चढाउँदा र ओराल्दा कहाँबाट गर्न सकिन्छ भनेर एउटा कार्यदल गठन भएको र कार्यदलले नै यसका बारेमा अध्ययन गरेर ठाउँ तोक्ने पनि सहमति भएको छ । 

यस्तै, कार्यदलले छरिएर रहेका अव्यवस्थित काउन्टरलाई हटाइ सबै काउन्टर बसपार्कमै रहने तथा बाहिर भने बुकिङ काउन्टर नभएर कार्यालय बनाएर जाने भन्ने पनि सहमति भएको छ । 

कोटेश्वर या कलङ्कीमा झर्नुपर्ने यात्रु नयाँ बसपार्क पुग्नुपर्ने विषय अव्यावहारिक हुने भएकाले यसबारे कार्यदलले टुङ्गो लगाउने स्वाँरको भनाइ छ । स्वाँरले भन्नुभयो, ‘लोकतन्त्रको राम्रो अभ्यास भएको छ । सरोकारवाला सबैलाई राखेर महानगरले राम्रो काम र निर्णय गरेको छ ।’ 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Hema Rai

    June 18, 2023, 9:08 p.m.

    एक दम राम्रो कुरा हो यसरी एकै ठाउँबाट टिकेट काट्दा यात्रु हरुले एक दम सहज मिल्ने छ ।कति पया लामो दूरीको गाडीहरुमा एउटा सिट २/३जना सङ्ग बेचिएको हुन्छ र कति सास्ती भोगेको हुन्छ KTM to drn आउँदा मैले खुद मेरो आप्नै आँखाले देखेको छु र कतिलाई मैले यो आवाज पनि उठाको छु काउन्टरमा ,जे होस अबको यात्रु हरुले एकै ठाउँबाट भयेसी यो सास्ती त खेप्नु पर्दैन होला नि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया