नयाँ बसपार्कमा मात्रै यात्रु ओराल्ने र चढाउने निर्णय पूर्ण रुपमा कार्यान्वयन भएन

 असार २, २०८० शनिबार ८:८:२३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – दमौलीका सञ्जय पौडेल घर जान कलंकीमा पोखराको गाडी कुरिरहनु भएको छ । उहाँलाई काठमाण्डौ महानगरपालिकाले शुक्रवारदेखि नै नयाँ बसपार्कबाहेक अन्यत्र गाडी रोक्न नपाउने र यात्रु राख्न तथा झार्न नपाइने सूचना निकालेको थाहा छ । 

पौडेल भन्नुहुन्छ, ‘थाहा नभएको होइन । मेरो कोठा यहाँ कलंकी नजिकै छ । अब दमौली जान बसपार्क गएर फेरि कलंकी हुँदै जाने कुरा पनि त भएन । यो निर्णय हामीजस्ता यात्रुलाई भने त्यति सुहाउँदो भएन ।’

पौडेल पोखरा जाने माइक्रोबस चढेर जानुभयो । शुक्रवार कलंकी चोकमा ठूला गाडीहरु नरोकिए पनि साना माइक्रोबसहरु भने रोक्ने तथा यात्रु हाल्ने क्रम यथावत नै थियो । पोखराका केही माइक्रोबसहरुले बाटोमा राख्दा कारबाही हुने डरले होला बाटोसँगै बिसौनी नै बनाएका थिए । काठमाण्डौ बाहिर जाने ठूला गाडीहरु भने ‘पिक एण्ड ड्रप’ अर्थात् बाटोमा नरोकी भएको मान्छे हाल्दै गुडिरहेका थिए । यसले काठमाण्डौ बाहिर जाने गाडी रोकेका कारण हुने कलंकीको जाम भने निकै कम भएको थियो । 

कलंकीको यो दृष्य हेर्दा काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ भित्रिने र बाहिरिने लामो, मध्यम तथा छोटो दुरीका गाडीहरु बसपार्कबाटमात्र सञ्चालन हुने भने पनि निर्णय पूर्णरुपमा कार्यान्वयन हुन सकेन । 
चितवन चल्ने माइक्रोबसका चालक दीपक लामा आफू बसपार्कबाटै आएको कलंकीमा भएका केही मान्छे हाल्न मात्र रोकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी धेरै बेर रोकिएर बाटोमा राखेर मान्छे हाल्दैनौँ । यसो एकछिन रोकिएर मान्छे हालेर गइहाल्ने हो । पहिले जस्तो रोक्ने होइन ।’

कलंकीमा काठमाण्डौ महानगरको यस निर्णयपछि ठूला गाडीहरु र माइक्रोबसहरु पनि कलंकीमा रहेको पेट्रोल पम्पमा कोही साँच्चै तेल हाल्ने अनि केही गाडीमा तेल हाल्ने निहुँमा रोक्ने गरेको देखिन्छ । यसले गाडी कुरिरहेका यात्रु तथा बिचौलियाबीच मोलमोलाइ पनि भइरहेको छ ।

काठमाण्डौ महानगरलाई कोटेश्वर, बल्खु तथा कलंकीमा महानगरको निर्णयभन्दा बाहिर गएर गाडीले यात्रु चढाइरहेको बारेमा जानकारी रहेको बताउनुहुन्छ महानगरका यातायात विज्ञ विज्ञ जगतमान श्रेष्ठ । उहाँ महानगरले बसपार्क बाहिरबाट गाडी सञ्चालन नगर्न नगराउन तथा बसपार्क बाहिर रहेका टिकट काउण्टर हटाउने निर्णय कार्यान्वयन गर्न अन्य सरोकारवालाहरुसमेत संलग्न १४ सदस्यीय कार्यदलको संयोजक पनि हुनुहुन्छ ।

काठमाण्डौ महानगर र यातायात व्यवसायीबीच बसपार्कबाहेक अन्तबाट यात्रु चढाउन तथा ओराल्न नपाउने सहमति भए पनि यो सबै एकैचोटि लागू गर्न केही समय लाग्ने र विस्तारै लागू हुँदै जाने बताउनुहुन्छ श्रेष्ठ । उहाँ भन्नुहुन्छ, ‘हामीलाई कलंकीलगायत अन्यत्रको सबै कुराको जानकारी छ । एकै पटक सबै हुँदैन बिस्तारै हुन्छ ।’

यो निर्णयबाट व्यवसायी पनि सन्तुष्ट रहेको तर, बिचौलियालाई भने चित्त नबुझेका कारण केही समस्या आएको र अबको एक हप्तामा यो निर्णय पूर्णरुपमा लागू हुने बताउनुहुन्छ श्रेष्ठ ।

महानगरले बसपार्कबाटै काठमाण्डौ भित्रिने र बाहिर जाने गाडी सञ्चालन गर्ने निर्णयसँगै बसपार्कबाहिरका सबै काउण्टर हटाउने निर्णय पनि गरेको थियो । अहिले महानगरले बसपार्क बाहिरका सबै टिकट काउण्टर हटाउने काम सुरु गरिसकेको र सबै एअरलाइन्सको टिकट एउटै ट्राभल एजेन्सीबाट काट्न पाए जस्तै गरी कोही इच्छुक देखिए टिकट बुकिङ कार्यालय राख्नसक्ने बताएको छ । तर, यसका लागि कार्यदलले कुन ठाउँमा कसरी र कस्तो कार्यालय राख्ने भन्ने कुरा निर्धारण गर्ने पनि श्रेष्ठले बताउनुभयो ।

काठमाण्डौ भित्रिने तथा बाहिरिने गाडीहरु बसपार्कबाट मात्रै सञ्चालन भए पनि नागरिक तथा यात्रुको सुविधाको लागि चढाउने तथा ओराल्ने सम्भावित ठाउँ हेरेर त्यसलाई कार्यान्वयन गर्ने सहमति भएको बताउनुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर ।

सबैलाई बसपार्कमै गएर चढ्न र झर भन्न अलि नसुहाएकोले कोटेश्वर, कलंकी तथा बल्खु जस्ता अहिले गाडी रोक्ने गरिराखेको ठाउँमा नभएर कार्यदलले सुझाएको ठाउँमा गाडी रोक्ने नभएर चढ्ने र झर्ने सुविधा हुने पनि स्वाँर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले जस्तो बस कुरेर बस्दैन । उहाँहरु बस आउने समयमा गएर चढ्नुपर्छ । फर्केर आउँदा ओर्लन पनि पाउनुहुन्छ । तर, रोकिरहेर बस्ने भन्ने हुँदैन ।’ 

यसका प्रस्थान बिन्दु र अन्तिम बिन्दु बसपार्क नै भए पनि कार्यदलले यात्रुको सुविधाको लागि ‘पिकअप एण्ड ड्रप’को लागि सम्भावित ठाउँ निर्धारण गर्ने सहमति भएको पनि स्वाँरले बताउनुभयो । 

टिकट काट्नका लागि सबै बसपार्क नै गइरहनुपर्ने कुरा सान्दर्भिक नभएकोले टिकट बुकिङ कार्यालय खोल्ने सहमति भएको बताउनुहुन्छ स्वाँर । उहाँ भन्नुहुन्छ, ‘कार्यदलले निर्धारण गरेको कार्यविधि अनुसार टिकट बुकिङ कार्यालय खोल्ने सहमति भएको छ ।’


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया