यात्रुहरुले बसपार्क बाहेक अन्तबाट चढ्न तथा झर्न नपाउने नै हो

 असार ४, २०८० सोमबार ११:४९:४२ | जगतमान श्रेष्ठ
unn.prixa.net

काठमाण्डौ भित्रिने र बाहिरिने गाडीहरुले जथाभाबी पार्किङ गर्ने, यात्रु ओराल्ने तथा चढाउने गर्दै आएका छन् । त्यस्तै टिकट काउण्टरहरु विभिन्न ठाउँमा हुने जसले गर्दा बाटोमै रोकेर गाडी आवागमनमा अवरोध पुर्‍याइरहेको अवस्था थियो ।

यसकारण काठमाण्डौ महानगरपालिकाले असार १ गतेदेखि काठमाण्डौ भित्रिने तथा बाहिरिने सबै किसिमका गाडीहरु बसपार्कबाटै छुट्ने तथा बीच बाटोमा रोकेर यात्रु चढाउन तथा ओराल्न नपाउने निर्णय गरेको हो । समग्रमा भन्नुपर्दा काठमाण्डौ महानगरपालिका भित्रको गाडी व्यवस्थापनलाई सहज बनाउने उपायमध्ये यो पनि एउटा भएका कारण हामीले यसलाई अगाडि बढाएका हौँ ।

काठमाण्डौ महानगरपालिकाले यो निर्णय गरेपछि यात्रुहरुले बसपार्क बाहेक अन्तबाट चढ्न तथा झर्न नपाउने नै हो । यसका लागि हामी केही लचिलो हुँदै केही व्यावहारिक कठिनाइ भए त्यसलाई निराकरण गर्ने भनेर एउटा कार्यदल पनि गठन गरेका छौँ । टिकट काउण्टर त अन्त कहीँ पनि हुँदै हुँदैन ।

चढ्ने र उत्रने भन्ने कुरामा कतिपय ठाउँहरुमा व्यावहारिकता हेर्न सक्ने ठाउँ भए हेर्ने भन्ने भएको हो । यसका लागि पनि यही ठाउँ र उही ठाउँ भन्ने छैन । तर, साह्रै अव्यावहारिक हुन्छ कि भन्ने केही गुनासो पनि आएको हुनाले त्यसलाई हेर्ने एउटा कार्यदल छ । कार्यदलले निर्णय गरेर त्यसको जानकारी हामी पछि गराउँछौँ ।

तर, हामीले निर्णय गरे पनि अहिले पनि कलंकी, बल्खु तथा कोटेश्वरबाट यात्रुहरु चढाउने तथा ओराल्ने काम भइरहेको छ । असार ३२ गतेको बैठक बस्दा तीन वटा मजदुर संगठन, दुई वटा राष्ट्रिय महासंघ सबैले एउटा भद्र सहमति गरेका थिए । सहमतिमा महानगरले यो निर्णय लागू गर्नका लागि कुनै बल प्रयोग गर्नुपर्दैन र काउण्टर तथा बोर्डहरु हटाउँछौँ भन्नुभएको थियो । साथै सबै गाडीहरु बसपार्कबाटै सञ्चालन गर्छौँ भन्नुभएको थियो । तर, विश्वासमा केही खडेरी परेको हो । धेरै गाडीहरु बसपार्कबाट सञ्चालन भएको छ ।

केही निहित स्वार्थ भएका व्यक्तिहरुले बाहिरी वातावरण खल्बल्याइ रहेका छन् । अरनिको यातायात समिति जसको केही आधिकारिक नभए पनि हाम्रो काममा खलल पुर्याइरहेको छ । उहाँहरुले गैरकानुनीरुपमा बसपार्क सञ्चालन गर्न पनि खोजिरहनु भएको छ । उहाँहरुले निजी जग्गामा बसपार्क सञ्चालन गर्न खोजिरहनु भएको छ जसको नक्सा पास पनि छैन र स्वीकृति पनि लिनु भएको छैन ।

यसकारण उहाँहरुलाई पनि हामी हाम्रो दायरामा ल्याउँछौँ । हामी पार्किङको दायरमा ल्याउँछौँ । उहाँहरुले कही ठाउँमा गएर उच्छृङ्खल व्यवहार गरिरहनु भएको छ । तर, उहाँहरुलगायत सबै बसपार्कमै आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।

हाम्रो निर्णय अहिले ५० प्रतिशत लागू भएको अवस्था हो । बिस्तारै बढ्दै गएको छ । निर्णय पूर्णरुपमा लागू गर्न एक हप्ताको समय लाग्न सक्छ । त्यसका व्यावहारिक कठिनाइ केही छन् भने हामी समस्या समाधान गर्नेतर्फ पनि लागेका छौँ । व्यावहारिक समस्याको हामी खोजीमा पनि छौँ र त्यसको समाधान पनि निकाल्छौँ ।

हामीले निर्णय नमानेका खण्डमा कारबाहीको कुरा पनि गरेका छौँ । दुई/चार दिन ट्रफिक प्रहरीसँग समन्वय गरेर हामी सहमतिका साथ गइरहेका छौँ । केही रुट परमिट अरु समस्याका कुराहरु पनि छन् त्यसमा हामी केही लचिलो भएका हौँ । यसकारण कारबाही नगरेका हौँ । तर, अटेर गर्नेलाई सहरी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा अनुसार नै कारबाही गर्छौँ । हामी कडाइका साथ जान्छौँ । ट्राफिक प्रहरी पनि त्यसमा सहमत छ । सवारी ऐन नियम विपरीत जानेलाई हामी कारबाही गर्न तयार छौँ ।

काउण्टर व्यवस्थितको काम सुरु भइसकेको छ । बसपार्कभित्रै हुन्छ । भइसकेको पनि छ । अन्यत्र काउण्टर हुँदैन । बस छुट्ने टिकट काट्ने काउण्टर सम्पूर्ण बसपार्कभित्रै हुन्छ । अब सबै काउण्टर बसपार्कभित्रै हुन्छ ।

अव्यवस्थित काउण्टरहरु हटाएर हामीले टिकट बुकिङ कार्यालय खोल्ने भनेका छौँ । यो भनेको हवाईजहाजको पनि टिकटहरु विभिन्न ट्राभल एजेन्सीहरुले खोलेको अवस्था छ । यस्ता विभिन्न कार्यालयहरु छन् । हामीले त्यस्तै कार्यालयको अवधारणा ल्याएका हौँ ।

गाडीको टिकट काट्न ठमेल अथवा बानेश्वर जहाँ पनि बुकिङ कार्यालय खोल्न पाइयो तर, गाडी आवागमनमा बाधा हुने किसिमले तथा गलत प्रयोग हुने किसिमले हामी खोल्न दिँदैनौँ । टिकट बुकिङ कार्यालय खोल्न हामी राजी छौँ । तर, त्यसको पनि ठाउँ, मापदण्ड सबै हुन्छ । हामीले मापदण्ड तोकेपछि उहाँहरुले स्वीकृति पाउनुहुन्छ ।

अहिले गठन भएको कार्यदल १३ सदस्यीय हो । मेरो आफ्नो संयोजकत्वमा दुई वटा राष्ट्रिय महासंघ तथा तीन जना साथीहरु मजदुर संगठनका, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयका प्रतिनिधिहरु गरेर १३ सदस्यीय कार्यदल गठन भएको हो । यो अहिलेको निर्णय कार्यान्वयन गर्ने कार्यदल हो ।

कार्यदलले काम सुरु गरिसकेको छ । व्यावहारमा आउँदा केही समस्याहरु आउँदो रहेछन् त्यो समस्या समाधान पनि गर्दैछौँ । राम्रोसँग काम व्यवस्थापन नभएसम्म कार्यदल रहिरहन्छ । यसको समयसीमा यति भनेर तोकिएको अवस्था छैन । यसको धेरै समस्या छैन । यसले समाधान गर्नुपर्ने मुख्यगरी यात्रु चढाउने र ओराल्ने समस्या हो । त्यसकारण यसको अवधि त्यति लामो पनि नजाला ।

अहिले बसपार्कको क्षमता सात सय बसको हो । बसपार्कको क्षमता छैन भन्ने कुरा पनि उठाइएको छ । तर, बसपार्कमा बस्ने भनेको केवल २५ प्रतिशत गाडी मात्र हो । २५ प्रतिशत गन्तव्य स्थान पोखरा, चितवन वा अन्यत्र बस्छ । २५ प्रतिशत आइरहेको हुन्छ भने २५ प्रतिशत गइरहेको हुन्छ । यसकारण सबै गाडी त्यहाँ गएर नबस्ने भएका कारण पनि क्षमता पुग्दैन भन्ने कुरा होइन ।

अहिले पनि गौशालाबाट छुट्ने गाडी तथा माइक्रोबस दिउँसो त गौशालामा देखिँदैन नि । अरु बेला आफ्नो ग्यारेजमा जान्छ नि । जाने बेलामा आएर लिएर जाने हो । बसपार्कमा पनि त्यस्तै हो । त्यसकारण ठाउँ नपुग्ने भन्ने होइन । यो नकारात्मक ढंगले फैलाइएको हल्ला मात्र हो ।

अहिलेको समस्या भनेको बसपार्कबाहिरका ठाउँमा यात्रु ओराल्ने तथा चढाउने नै हो । यो समस्या समाधान गर्न एक हप्तादेखि १५ दिन दिनको समय लाग्ला । १५ दिनमा हामी सबै समस्या समाधान गर्छौं ।

(श्रेष्ठसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १५, २०८१

जगतमान श्रेष्ठ

श्रेष्ठ काठमाण्डौ महानगरपालिकाका ट्राफिक सल्लाहकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया