सडकमा गोलभेडा : समाधानको उपायभन्दा पनि ध्यानाकर्षणको रणनीति

 असार ५, २०८० मंगलबार ११:२२:५५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ बलम्बुकी प्रतिमा केसी कालीमाटी थोक तरकारी बजारमा अरू तरकारीसँगै गोलभेडा छानिरहनु भएको छ । उहाँले एक ढक (पाँच किलो) सय रुपैयाँमा किन्नुभयो । आइतवार कालीमाटीको सडकमा गोलभेडा फालिएपछि त्यसले निकै चर्चा पायो । कालीमाटीको सडक तथा तरकारी बजारको भित्र र होल्डिङ एरियामा गोलभेडा फालिएको थियो । त्यसलाई सफा गर्न डोजर नै प्रयोग गरिएको थियो । एकातिर भाउ पाइएन भनेर गोलभेडा फालिएको छ । अर्कोतिर त्यसको भोलिपल्ट सय रुपैयाँ तिरेर उपभोक्ता किन्न बाध्य छन् । 

केसी भन्नुहुन्छ, ‘एकातिर भाउ पाइएन भनेर गोलभेडा फालेको भन्छ । यहाँ हामी सय रुपैयाँ ढकमा किनिरहेका छौँ । त्यसरी फाल्नुको साटो कोही गरिबगुरुवा वा यत्रा आश्रम, बालगृह छन् त्यता लगेर दिएको भए पनि हुने ।’

समाचारहरूमा किसानले भाउ नपाएपछि गोलभेडा फालेको भनेर आए पनि किसानले फालेको कुरामा केसी सहमत हुनुहुन्न । ‘किसानले फाल्नुको साटो बारीमै कुहाउँछ । छिमेकीलाई दिन्छ । बजारमै पनि सित्तै दिन्छ । यो सबै व्यापारीको काम हो’, केसी भन्नुहुन्छ । 

यहाँ उपभोक्ता र किसानका कुरा मिलेका देखिन्छन् । केसीकै जस्ता कुरा छन् धादिङ बेनीघाटका किसान दिनेश कँडेलका पनि । उहाँ भन्नुहुन्छ, ‘पहिलो कुरो त किसानको सिधा पहुँच कालीमाटीमा छैन । किसानले कालीमाटी ल्याएर गोलभेडा फाल्नुको साटो बरु बारीमै कुहाउँछन् । कमसेकम मल त हुन्छ ।’

कालीमाटीको तरकारी बजारमा किसानको सोझो पहुँच छैन । कालीमाटीका थोक व्यापारी तथा बिचौलिया अनि विभिन्न सहकारीकामार्फत तरकारी बजारमा आइपुग्छ । किसान कँडेल पनि बेनीघाटमा आफूहरूले तरकारी लगेर सहकारीलाई दिने र सहकारीमार्फत व्यापारीले उठाउने हुनाले किसानले तरकारी तथा दूधजस्ता कुरा फाले भन्ने कुरा आए पनि किसानले नभइ व्यापारीले त्यसो गरेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘किसानले हुर्काइ, बढाइ, फलाइ गरेको कुराको सन्तानको जस्तै माया हुन्छ, त्यसैले लगेर किन फाल्थ्यो र ? भाउ नपाएपछि बरु बारीमै जोत्छौँ । हामी लगेर सडकमा कहिले पनि फाल्दैनौँ ।’

पछिल्लो समय तरकारी तथा दूध सडकमा फालेर चर्चामा आउने प्रवृत्ति पनि देखिएको छ । यसका अन्य धेरै विकल्पका बारेमा पनि प्रश्न उठ्ने गरेका छन् । तर किसान कँडेल भने विकल्पभन्दा पनि सरकारले तरकारीको पनि न्यूनतम मूल्य तोकिदिने हो भने किसानले पनि उचित मूल्य पाउने र उपभोक्ता पनि मारमा नपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘कुनै पनि तरकारीको न्यूनतम मूल्य तोक्ने हो भने किसानलाई पनि मर्का पर्दैन । उपभोक्ताले पनि सहजै उचित मूल्यमा खान पाउँछन् । व्यापारीलाई त झन् कहिले पनि घाटा हुँदै हुँदैन ।’

कालीमाटीको सडकमा गोलभेडा फालेपछि त्यसले राष्ट्रियरूपमा चर्चा त पायो नै यसो गर्दा बेचेर घाटा खानुभन्दा मूल्य केही बढाउन सकिन्छ कि भन्ने व्यापारीको रणनीतिक चाल रहेको पनि कालीमाटीका थोक तरकारी व्यापारी तथा किसान राजेन्द्र अधिकारी भन्नुहुन्छ । 

कालीमाटीमा गोलभेडा फालिएकै दिन पनि अधिकारीकहाँ गोलभेडा ढकको सय रुपैयाँ थियो । धादिङ नौबिसेका अधिकारी व्यापारीले गोलभेडा क्रेटको एक हजार रुपैयाँमा किन्ने सहमति गरेकोमा त्यतिले नबिक्दा फालेर देखाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘किसानसँग क्रेटको आठ सयदेखि एक हजार रुपैयाँमा एग्रिमेन्ट गरेको हुन्छ । त्यतिमा बिकेन अनि घाटा हुने भयो भनेर फालेर देखाए ।’

यसभन्दा अघिल्लो वर्ष गोलभेडाले राम्रो बजार पाएर क्रेटको आठ सय रुपैयाँमा बिकेका कारण यस पटक व्यापारीले हजार रुपैयाँ क्रेटमा किन्ने सहमति गरेका थिए । तर अहिले बजारमा दुई÷तीन सय रुपैयाँ क्रेटमा बिक्री भएका कारण व्यापारीले यति धेरै घाटा खाएर बेच्नुभन्दा त फाल्नु ठिक भनेर फालेर देखाएको अधिकारी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘यो सबै धेरै घाटा हुने भएपछि देखाउन गरेको हो । यसरी फाल्नुभन्दा त आश्रमहरूमा लगेर बाँडेको भए भइहाल्थ्यो नि । किन त्यसो गर्थे र ? हिजो दुई सय रुपैयाँ क्रेटले नबिकेर फाले आज चार सय भयो ।’

गोलभेडा फालिएको दिन आइतवार भारतीय ठूलो गोलभेडा औसतमा ४५ रुपैयाँ किलो तथा नेपाली सानो गोलभेडाको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले औसतमा आठ रुपैयाँ तोकेको थियो । अहिले किसानले गोलभेडा दुई रुपैयाँ किलोमा बिक्री गर्दै आएका छन् भने खुद्रा मूल्य २५ रुपैयाँभन्दा धेरै छ । 

कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्य आइतवार कालमाटीमा फालिएको गोलभेडा कालीमाटीका व्यापारीले नभएर काठमाण्डौ बाहिर बिक्री गर्नका लागि भनेर राखिएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘ती सबै गोलभेडा उपत्यकाबाहिर जाने हुन् । त्यहाँ पनि भाउ नभएर अन्तै फाल्ने भनेर यहाँ ल्याएर झुक्याएर फालेको हो । हामीलाई यसको बारेमा कुनै जानकारी नै थिएन । जानकारी नै नदिई त्यस्तो काम गरे ।’

किसान र व्यापारीले गोलभेडा फाले भने पनि किसानलाई टनेल खेती गर्न लगाउने व्यक्तिहरूले गोलभेडा फालेको बताउनुहुन्छ आचार्य । उहाँ भन्नुहुन्छ, ‘यसमा स्थायी तथा इजाजत प्राप्त व्यापारीको संलग्नता छैन । उनीहरूले राति ल्याएर अनलोड गरे अनि बिहान हामीलाई कुनै जानकारी नै नदिई यो सबै गरे । यसको बारेमा समिति, संस्था तथा व्यवसायी कसैलाई पनि जानकारी छैन ।’

संस्थाको आधिकारिक व्यक्ति भएका नाताले उनीहरूसँग सोध्दा भाउ बढाउन भनेर जवाफ दिएको पनि आचार्यले बताउनुभयो । तर यसरी फालेर भाउ नबढ्ने र यसले व्यापारी तथा उपभोक्ता दुवैलाई मार पर्ने भएका कारण यस्ता काम गर्न नहुने उहाँ बताउनुहुन्छ । आचार्य भन्नुहुन्छ, ‘हाम्रो साढे सुई सय रुपैयाँ क्रेटको गोलभेडा बिकिरहेको छ । उहाँहरूको बिकेको छैन भनेर कसरी भन्नु । यस कारण त्यो फाल्नकै लागि भनेर ल्याइएको गोलभेडा रहेछ भनेर हामीले बुझ्यौँ ।’

बजारमा सामान धेरै आएकोले खपत नभएपछि लागत पनि नउठेर किसान पनि मारमा परेका कारण फाल्नुपरेको हो भन्ने उनीहरूको कुरा आएको बताउनुहुन्छ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो कुरा कसैले सुनेन, हाम्रो कुरा सुनाउनु पर्यो, पीडा देखाउनु पर्यो भने उहाँहरूले सडकमा ल्याएर गोलभेडा फाल्नुभयो ।

कालीमाटीका स्टल होल्डर व्यापारीले गोलभेडा फालेको नभई उत्पादक, लगानीकर्ताहरूको यसमा संलग्नता देखिएको श्रेष्ठ बताउनुहुन्छ । 

कालीमाटीमा किसानका लागि भनेर छुट्याएको होल्डिङ यार्डमा त्यस्ता व्यापारीले गोलभेडा ल्याएर आइतवार राति राखेको र बिहान सडकमा फालेको पनि श्रेष्ठले बताउनुभयो । ‘अस्ति ल्याएर राखेका सामान बिहान सडकमा ल्याएर फालिएको हो । उहाँहरूले समस्याको ध्यानाकर्षण गर्नका लागि मात्र यसो गर्नुभएको हो’, उहाँ भन्नुहुन्छ, ‘यो आवश्यक थिएन । उपाय अरू पनि थिए होलान् ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया