सन्धिखर्कमा खेतीयोग्य जमिन बाँझाे राखे दाेब्बर तिराे तिर्नुपर्ने

 असार १०, २०८० आइतबार २०:१२:५३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा कृषियाेग्य जमिन बाँझाे राखेमा दाेब्बर रकम तिराे तिर्नुपर्ने भएको छ । कृषि उत्पादन बढाउन भन्दै नगरपालिकाले खेतीयोग्य जमिन बाँझाे राखेको खण्डमा दाेब्बर रकम तिराे तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरेकाे छ ।

नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले आज आइतवार आउँदाे आर्थिक वर्ष २०८०/८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

कृषि र पशुपालनबाट हुने उत्पादनमा अनुदानको व्यवस्थापन गर्ने, कम लागतमा बढी उत्पादन गर्न यान्त्रिकीकरण र आधुनिकीकरण गर्नेलगायतका कार्यक्रम सन्धिखर्क नगरपालिकाले गर्ने भएको छ ।

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजार हुँदै एसियाकै सबैभन्दा ठूलाे भगवती देवीको मूर्ति भएको ठाउँ अर्घा भगवती मन्दिर र अर्घा दरबारमा लैजान निजी क्षेत्रसँग सहकार्य गरेर सार्वजनिक गाडी सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयाे ।

पालिकाले रैथाने बालीको संरक्षण गर्ने, पर्यटनका लागि पदमार्ग निर्माण गर्ने भएको छ । तारे हाेटल र स्वदेशी कच्चा पदार्थकाे प्रयोग गरेर उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा राजस्व दस्तुरमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका वादी समुदाय र गन्धर्व समुदायकाे नगरपालिकाले  निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाकाे याेगदानकाे मूल्याङ्कन गर्दै निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ ।

यस्तै नगरभित्रका मुख्य सडकको स्तराेन्नति र कालाेपत्र गर्ने, घरघरमा खानेपानी पुर्‍याउनेलगायतका कुरा समावेश भएकाे नीति तथा कार्यक्रम नगरपालिकाले पास गरेको छ ।

यस्तै उपमेयर मिश्रा आचार्यले आजै आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर एक अर्ब एक कराेड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

बजेटमा पुँजीगत खर्च ३२ कराेड, चालु खर्च ५१ करोड ४५ लाख र सामाजिक सुरक्षा खर्च १८ करोड रुपैयाँ रहेको छ । आज प्रस्तुत भएको बजेट १३ गते बस्ने नगरसभाले पास गर्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • मेघनाथ आचार्य

    June 27, 2023, 12:48 a.m.

    बादरले खेतीपाती जोगाउन मुस्किल भएको छ ।बादरले उठिबास लगाएको छ ।यस्को निकास नगरपालिकाले दिन्छ दिदैन ? लगानी लगाएर लगानी बराबरको मूल्य उथदैन । यदि लगानी नै उठ्दैन भने त्यस्को क्षतिपूर्ती पालिकाले दिने नदिने ?? यी दुई कुरामा पालिकाको के छ योजना ??

  •  0 Reply
  • महेश्वर पन्थी

    June 26, 2023, 11:32 a.m.

    रहरले बाँझाे कसैले राख्दैन । छाेरा बुहारी शहरमा रहर फेर्दै छन् । बसाइसराइ डरलाग्दाे छ । गाउँमा बुढाबुढी मात्र छन् । कसले गर्ने हाे ? गाउँमा बाँदर बनेल मात्र छन् । लाै त यी निर्णयकारहरुले आआफ्ना घरमा एउटा काक्राे फलाएर देखाउन त ! न पानी छ न बिऊ छ न पारिश्रम गर्ने युवा छ । हचुवा निर्णय। वस्तुस्थिति विपरितकाे निर्णय ।

  •  0 Reply

तपाईको प्रतिक्रिया