नारायणगढ–बुटवल  सडक खण्ड : घाम लाग्दा धुलो, पानी परे  हिलो (फोटोसहित)

 असार ११, २०८० सोमबार १२:३३:४९ | दयाराम आचार्य
unn.prixa.net

नवलपुर - नारायणगढ-बुटवल सडक खण्ड घाम लाग्दा धुलाेले ढपक्कै ढाकिन्छ । पानी पर्नासाथ सडक हिलाे र चिप्लाे हुन्छ । चार लेनमा विस्तार भइरहेको याे सडक खण्डमा यात्रा गर्ने यात्रुलाई न घाम लाग्दा सुख छ न पानी पर्दा । दिनहुँ हजाराैँ गाडी ओहाेरदाेहाेर गर्ने याे सडक खण्डमा यात्रा गर्नेहरुले निक्कै सास्ती भाेग्नु परेकाे छ । 

याे सडककाे कावासोतीदेखि दाउन्नेसम्मकाे खण्डमा पुल निर्माण नहुँदा डाइभर्सनमार्फत् गाडी ओहाेदाेहाेर भइरहेका छन् ।  यहाँ पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था छ । डाइभर्सन निर्माण गरिएको ठाउँमा रातोमाटो हुँदा पानी पर्नासाथ चिप्लो भएर गाडी चलाउन समस्या हुनेगर्छ ।

याे सडककाे निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेशनले भने वर्षा शुरु हुनुपूर्व धेरै ठाउँका पुल निर्माण सम्पन्न गरी डाइभर्सनबाट यात्रा गर्नुपर्ने अवस्था अत्य गर्ने दाबी गरेको छ। आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार केही दिनभित्रमा निर्माण सम्पन्न भएका पुलहरू सञ्चालन गर्ने गरी काम गरिएको छ । पानी पर्दा राजमार्ग बन्द नहोस् भनेर सम्भावित ठाउँमा कामलाई तीव्रता दिइएको उहाँकाे दाबी छ । 

झाका अनुसार नवलपुर खण्डमा अहिलेसम्म दुवैतर्फ गरी जम्मा १४ किलोमिटर कालोपत्रको काम सकिएको छ । अहिले कावासोती – डण्डा क्षेत्रमा कालोपत्र गर्ने योजना अनुसार काम अघि बढिरहेको छ । 

विद्युतकाे पोल तथा ट्रान्सफर्मर  हटाउन ढिला हुँदा बजार क्षेत्रको कामलाई छिटो गर्न समस्या भएको उहाँले बताउनुभयो । 'राजमार्ग क्षेत्रमा ट्रान्सफर्मर हटाउन तालिका मिलिरहेको छैन, बिदाको दिनमा मात्रै लाइन काटी काम गर्नुपर्ने अवस्था छ , यसले कामलाई अल्झाएको छ' झाले भन्नुभयो ।  नारायणगढ – बुटवल सडक विस्तार आयोजना विसं २०७५ सालदेखि भइरहेकाे छ । 

१ सय १४ किलोमिटर लम्बाईको याे सडककाे पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेशनलाई जिम्मा दिइएको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो भदौसम्मका लागि म्याद थप गरिएको छ । यस अवधिमा आयोजनाको करिब ५० प्रतिशत काम मात्रै सम्पन्न हुने अवस्था छ । अहिलेसम्म पूर्वी खण्डमा जम्मा ३८ दशमलव ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई  खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । 

बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी  एसियाली विकास बैंकको ऋण सहयोगमा सडककाे निर्माणकाे आयोजना अघि बढाइएको हो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया