आँप कति खाने ?

 असार १२, २०८० मंगलबार ९:३२:३२ | डा. दिपक मल्ल
unn.prixa.net

अहिले फलहरुको राजा आँपको सिजन हो । बजारमा थरीथरीका आँप किन्न पाइन्छ । आँप खाँदा स्वादिलो हुनुकासाथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खाँदा यसले उल्टै शरीरलाई नै असर गर्छ।

आँप खाने तरिका पनि फरकफरक हुन्छ । आँपलाई काटेर, जुस बनाएर वा अचार बनाएर पनि खान मिल्छ । तर बजारबाट किनेर ल्याएको आँप खानुअघि कम्तीमा १२ घण्टा सफा पानीमा डुबाएर राख्नु पर्छ । बजारमा विषादी प्रयोग गरेर पकाएका आँप पनि भेटिन्छन् । आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने सम्भावना रहन्छ। 

कसले कति खाने ?

साना केटाकेटी, ज्येष्ठ नागरिक, पाचन प्रणाली कमजोर भएका व्यक्तिले आँप खाँदा एक/दुई चानादेखि बढीमा एउटा सिङ्गै पनि खान मिल्छ । युवाले पनि दिनमा दुईदेखि तीनवटासम्म आँप खान मिल्छ । तर एकै चोटी खाँदा कहिलेकाहीँ समस्या पनि हुन सक्छ ।

आँपको अचार बनाएर पनि खान मिल्छ । आँपबाट बनेको अचार तुरुन्तै वा एक हप्तासम्म खान मिल्छ । तर एक हप्ताभन्दा धेरै दिन राखेको अचारमा ढुसी लाग्न सक्छ । ढुसी लागेको वा अचारमा मिसिएको चिनीले शरीरलाई झन बेफाइदा गर्छ ।

मधुमेहका बिरामीले आँप खाँदा शरीरमा चिनीको मात्रा हेरेरमात्रै खानुपर्छ । आँपमा चिनीको मात्रा धेरै हुने भएकाले, आँप खाँदा यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । मधुमेहका बिरामीको शरीरमा ब्लड सुगर लेबल तीन सयभन्दा धेरै भए आँप खानै हुँदैन । तर ब्लड सुगर लेबल एक सय ६० देखि ७० सम्म वा आसपास भए एक/दुई चाना आँप खाँदा केही हुँदैन।

मधुुमेहका रोगीले आँप खानै हुँदैन भन्ने कुरा पनि गलत हो । अरुले खाएको हेर्दा वा आफू खान नपाउँदा पनि शरीरमा चिनीको मात्रा बढ्न सक्छ । त्यसैले आँप खाएर हिँड्डुल वा कसरत गर्नु पर्छ । यसोगर्दा आँप खाँदा पाइने शक्ति खर्च हुन्छ । छालाको एलर्जी भएका व्यक्तिले डाक्टरलाई सोधेरमात्रै आँप खानुपर्छ। 

तर आँप मिठो भयो भन्दैमा शरीरलाई चाहिनेभन्दा धेरै आँप खानु पनि ठिक होइन । धेरै आँप खाँदा शरीरले पचाउन सक्दैन र झाडापखाला लाग्न सक्छ । कोहीलाई त पखालासँगै ज्वरो आउने र छालामा समस्या पनि देखिन सक्छ ।

गाउँघरमा फलेको ताजा आँप हो भन्दैमा ५, ६ वटा पनि खान भएन । शरीरको पचाउने सक्ने  क्षमताभन्दा बढी आँप खाए अमन हुन सक्छ।

कस्तो आँप खान हुँदैन ?

अहिले आँपको सिजन भएकाले बजारमा विषादी प्रयोग गरेर पकाइएका आँप छ्याछ्याप्ती भेटिन्छ । त्यसैले शुरुमा त आँप किन्ने बेलामै सचेत हुनु पर्छ । विषादी हालेर पाकेका आँप हेर्दा एकैनासको पहेँलो वा सबैतिर पाकेजस्तो देखिन्छ । कुनै आँप हेर्दा पाकेको जस्तो देखिए पनि छाम्दा काँचो हुन्छ । तर बोटमै पाकेको आँप हेर्दा कतै पहेँलो कतै हरियो देखिन्छ ।

बजारमा पाइने डब्बाको आँप, प्याकेटको आँप वा म्याङ्गो जुस खान हुँदैन । 

(डा. मल्लसँगकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख १५, २०८१

डा. दिपक मल्ल

डा. मल्ल वीर अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया