लमजुङ : 'लम्पी स्किन’ सङ्क्रमणका कारण रोपाइँ प्रभावित, किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

 असार २२, २०८० शुक्रबार २०:२४:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । 'लम्पी स्किन' सङ्क्रमणबाट गोरु बिरामी पर्दा, मर्दा रोपाइँ नै प्रभावित भएपछि दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो ।

अहिले लम्पी स्किन सङ्क्रमणका कारण रोपाइँ प्रभावित भएकाले किसानलाई राेपाइँ गर्न सहज हाेस् भनेर हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयाे ।

गाउँपालिकाभित्रका ६० जना किसानलाई ७५ प्रतिशत अनुदानमा  हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाकाे कृषि शाखाका कृषि प्रसार अधिकृत नरहरि घिमिरेले बताउनुभयो । लम्पी स्किन सङ्क्रमणबाट गोरु मरेका १३ जना किसानलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोष र अन्य ४७ जना किसानलाई कृषि शाखाको बजेटबाट ट्र्याक्टर वितरण गरिएको उहाँले बताउनुभयो ।

किसानलाई छ हर्ज पावरको ५५ वटा र सात हर्ज पावरको पाँच वटा ट्र्याक्टर वितरण गरिएको कृषि शाखाले जनाएको छ । ७५ प्रतिशत अनुदानमा छ हर्ज पावरको ट्र्याक्टर खरिदमा किसानको १४ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सात हर्ज पावरको ट्र्याक्टर खरिदमा किसानको २४ हजार दुई सय ५० रुपैयाँ खर्च भएको छ । छ हर्ज पावरको ट्र्याक्टर एउटाकाे ५७ हजार र सात हर्ज पावरको ट्र्याक्टर एउटाकाे ६८ हजार रुपैयाँ खर्च भएकाे गाउँपालिकाले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया