ठाउँ, समय र कर तोकेर नयाँ ‘लेन’ बनाउने हैन त बालेन !

 असार २८, २०८० बिहिबार १५:३४:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै महानगरलाई मेयर बालेनले सम्हालेदेखि शहर ‘लेन’ मा चल्ने प्रयासमा छ । शहरका सडकपेटी फराकिला, हराभरा र रङ्गीचङ्गी हुँदैछन् । फुटपाथ सफा र फराकिलो देखिन थालेका छन् । हिँड्न केही सहज भएको छ । सडकको जाम केही घटेको छ । डेढ वर्षको अन्तरालमा काठमाण्डौमा पाइला टेक्नेहरूलाई शहर अलि सभ्य र आधुनिक भएको हो कि भन्ने आभास हुन थालेको छ ।

तर फेरिएको काठमाण्डौ सबैलाई मन परेको छैन, बालेनको कार्यशैलीप्रति असन्तुष्ट हुनेहरू पनि प्रशस्तै छन् । फुटपाथ र सडकमा सामान बेच्न नपाउनेहरू बालेनसित रुष्ट थिए । उनीहरूको समर्थन र महानगरको विरोधमा अभियान नै चल्न थालेको छ । बुधवारमात्रै गरीखाने वर्गको नाममा महानगरपालिका अगाडि ‘गरिबको चमेली बोलीदिने कोही छैन’ भन्ने गीति भाकामा प्रदर्शन भयो । जुन गीत मेयरको उम्मेदवारी दिएर प्रचारमा हिँड्दा बालेनले गाउने गर्थे । महानगरले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरूलाई काठमाण्डाैमा टिक्नै नदिएकोमा आक्रोश पनि बढ्दो छ । काठमाण्डाैकाे रूप फेर्न बालेनले थालेको अभियानको प्रशंसाका बीच महानगरपालिकाभित्र भएका गरीखाने वर्गलाई अवमूल्यन गरेर शहरको सौन्दर्य राम्रो हुन सक्दैन भन्ने आलोचना पनि उत्तिकै छ । महानगरले गरीखाने गरिबलाई फुटपाथबाट लखेटेर सडकमा अनावश्यक चमकधमक, साजसज्जा र तडकभडकमा समय र पैसाको बर्बाद गर्‍याे भन्नेहरू पनि बाक्लै छन् ।

सबैले मानेको कुरा हो, फुटपाथ व्यापार गर्ने ठाउँ होइन, हिँड्ने बाटो हो । कुनै व्यापारी सामान बोकेर हिँड्छ भने फुटपाथ उसको पनि हो तर कोही फुटपाथमा बाटो छेकेर बस्न र सुत्न खोज्छ भने फुटपाथ उसले गर्ने कामका लागि पनि होइन ।

बालेन मेयर हुनुभन्दा पहिले फुटपाथमा जथाभावी व्यापार हुन्थ्यो र फुटपाथमा हिँड्न नपाएर धेरैले गाडीसँगै सडकमा हिँड्नु पर्थ्याे । फुटापाथमा व्यापार गर्नेहरूका कारण गाडी, यात्रु र पैदलयात्रुले हैरानी खेप्नुपरेको गुनासो गर्दै फुटपाथको व्यापार नियन्त्रण गर्नुपर्छ भन्ने माग व्यापक थियो । तर तत्कालीन मेयरहरूले बेवास्ता गर्दा र कडा कदम नचाल्दा फुटपाथमा पैदलयात्रीबाहेक अरू सबैको मनमौजी चल्यो । मेयर हुनेबित्तिकै बालेनले फुटपाथमा मनमौजी व्यापार गर्ने गाडी, टिकट काउन्टर र व्यापारी सबैलाई नियममा ल्याउन खोजेका छन् ।

गाडीका टिकट काउन्टर बन्द गर्दा पनि विरोध त भएकै थियो तर उनीहरू धनी अनि फुटपाथ र सडकमा व्यापार गर्नेहरू गरिब भन्ने परम्परागत भाष्यका कारण चमेलीको चर्चा चाहिनेभन्दा धेरै भइरहेको छ । सडक र शहरको सौन्दर्यभन्दा शहरी गरिबको रोजीरोटी ठूलो र पसलभन्दा फुटपाथको सामान सस्तो र सजिलो भन्ने भाष्य निकै बलियो छ । र अनेक परम्परागत भाष्यका बीच महानगर धनी, गरिब, यहाँ बस्ने र कमाउने सबैको साझा हो भन्ने नयाँ भाष्य पनि निर्माण भइरहेको छ ।

त्यसो हो भने सडक र फुटपाथलाई व्यवस्थित बनाउने अभियानलाई असर नपर्ने गरी गरीखाने वर्गको समेत चित्त बुझाउने उपाय के होला त ? महानगरलाई व्यवस्थित बनाउने जिम्मेवारी लिएका मेयरलाई पक्कै थाहा हुनुपर्छ, विश्वका सबै आधुनिक शहरहरूमा पनि सडकमा व्यापार हुन्छ । फूलबिरुवाले झकिझकाउ बनाइएको सडकमा यात्रुलाई बस्नका लागि निश्चित ठाउँ हुन्छ । मान्छे बस्ने ठाउँ भएपछि त्यहाँ चिया कफी र खाजा नास्ता बेच्ने पसल पनि हुन्छन् । तर यस्ता पसल आकर्षक र व्यवस्थित हुन्छन् । काठमाण्डौमा पनि यस्तै निश्चित ठाउँ तोकेर गरीखाने वर्गलाई सन्तुष्ट बनाउन सकिन्छ । यसरी निश्चित ठाउँमा व्यापार गर्नेबाट महानगरले निश्चित कर उठाउन सक्छ ।

सडक छेउको शटरमा भाडा र व्यवसाय कर तिरेर व्यापार हुन्छ तर त्यही शटर अगाडि फुटपाथमा व्यापार गर्नेले त व्यवसाय दर्ता गरेको पनि देखिँदैन । तर फुटपाथमा व्यापार गर्ने कतिले शटर र पसलमा हुनेभन्दा धेरै रकमको कारोबार र कमाइ गर्छन् । घरधनीलाई भाडा र राज्यलाई कर तिरेर शटरमा व्यापार गर्नेहरू पनि सडकपेटीमा व्यापार गर्नेहरूजस्तै गरीखाने वर्गकै हुन् । एउटा गरीखाने वर्गले कर तिर्नु पर्ने तर अर्को गरीखाने वर्गले कर तिर्नु नपर्ने भन्ने कुरा न्यायोचित होइन ।

त्यसो त बालेनलाई मेयर बनाउन साना व्यापारी र व्यवसायीको मत, आशीर्वाद र योगदान निकै ठूलो छ । तर उनी यी वर्गको कुरा सुन्न चाहँदैनन् र बसेर छलफल गर्न पनि खोज्दैनन् भन्ने आरोप छ । उनका नगर प्रहरीहरू ठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूविरुद्ध निर्मम ढङ्गले प्रस्तुत हुँदै आएका छन् । उनीहरूलाई नियन्त्रणमा लिने नाममा नगर प्रहरीहरूले लछारपछार गर्ने र सामानमा क्षति पुर्‍याइदिने गरेको गुनासो व्यापारीहरूको छ ।

साना व्यापारी र व्यवसायीहरूले गरीखाने वातावरण बनाइदिन माग गर्दै आएका छन् । उनीहरूको मागअनुसार निश्चित ठाउँ तोकेर निश्चित समयमा व्यापार गर्न दिँदा शहर कुरुप हुँदैन । मात्रै त्यस्तो व्यापारले बटुवा र गाडीको आवातजावतमा असर पुग्न भएन । ठेलागाडा या सामान राख्ने ठाउँ शहरको सुन्दरतासँग मेल खाने आकर्षक र व्यवस्थित हुनुपर्‍याे । सामान स्वस्थ र गुणस्तर हुनुपर्‍याे । अनि सामान बेच्न राखेबापत व्यापारीले महानगरलाई कर तिर्नुपर्‍याे ।

सडकको व्यापार पनि शहरको सुन्दरता र आवश्यकता हो । डोको, थुन्से र खर्पनमा डुलाएर तरकारी व्यापार गर्नेलाई अहिले पनि अवरोध छैन । फुटपाथमा हिँड्ने बटुवा र सडकमा गुड्ने गाडीलाई असर पर्ने गरी व्यापार गर्न त रोक्नु नै पर्छ । बरु निश्चित सडक र समयमा व्यापार गर्न दिनुपर्छ । यसरी सडकको व्यापार व्यवस्थित गर्दा रोजीरोटी खोसिएको भन्दै पुर्परोमा हात लगाएर बसेका सडक व्यापारीले मेयरको जयजयकार गर्नेछन् । विश्वका अरू शहरमाजस्तै काठमाण्डौमा पनि निश्चित ठाउँ र समय तोकेर सडकमा व्यवसाय गर्न दिँदा गरीखाने वर्गलाई मात्रै फाइदा हुने होइन, लेन पक्डिएर लम्किएका बालेनको पनि हितमा हुन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

3 Comments

  • Ramji Uprety

    July 15, 2023, 8:46 a.m.

    Need to upgrade sewerage more than talking tax issue

  •  0 Reply
  • Jeeban Timalsina

    July 15, 2023, 6:09 a.m.

    Hoina Gari khaneko namma sadkma jepani garna painchha ra Kar tirnu naparni ani vada pani tirnu naparni taivayera Hola Balen ko Birodh gareko hijo kunai yeuta party ko jhole haru le mahanagar ko gate ma manche lagera Birodh gareko dekhda achamah lagchha... dhikarchha garikhane ko Nauma 2084 ko vote ahileai parchar gareko bujchhu ma neta le garikhane ko Nauma sadk Pati ra Kathmandu ko khola nalaa kabja jamayeko chha kuro ajha sukumbasi ko Nepal ma janma lini Nepali nagrik tiyo kahilai sukumbasi janmidaina kahikatai 2,4 pariwar ko ghar barkha ma badipahiro le gumayeka lai junthu ho tehi thauma utibelai jaga sarkhar le bebstha gardiyrko vaye aaja Kathmandu ka khola nalaa varinthiyena yo sab Pahila congress party ani yemale party ahile maobadi party le Kathmandu ko khola nalaa kabja jamayeko chha kuro prsta chha bujnilai nabujnilai vanu kehi chaina.... Aba Sandrba aayo Balen ko yeuta real emandar choro le pani janma liyeko rakhechha hamro yo pbitra dhrti ma Salam chha Balen Mayor Saab Lai....

  •  0 Reply
  • Govind Sharma

    July 13, 2023, 9:30 p.m.

    तेरीमा १२ भाइ, गरीबलाई मात्र लछार पछार गरेको देखिस् 😡 सबैभन्दा सुरुमा बानेश्वरको अल्फा हाउस माथि गरेको कारबाही चाहिँ तेरो फुटेको आँखाले देखेन?😡😡😡

  •  0 Reply

तपाईको प्रतिक्रिया