'जापानको आम्दानी बाख्रा पालनमा लगानी'

 असार ३०, २०८० शनिबार १४:१४:३६ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ - गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । ११ वर्षअघि विद्यार्थी ‘भिषा’ मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोराेना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान फर्कन चाहनुभएन । 

कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झँदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गर्नुभयो । बस्नेतले आठ वर्षको जापान बसाइ टुङ्गाएर गलकोट नगरपालिका–९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आउनुभएको छ । 

बस्नेतले गल्याङमा झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै आउनुभएको हो । उहाँले बाख्रापालनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट बाख्रापालन गर्दै आएको बताउनुभयो । 

बाख्रापालनका लागि विदेशबाट आयातित घाँस खेती समेत गर्दै आएको बस्नेतको भनाइ छ । बाग्लुङको गलकोटका युवा प्रायजसाे जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि बाख्रापालन थाल्नुभएको छ । 

उहाँको बाख्रापालनमा झण्डै ४० लाख रुपैयाँ लगानी भइसकेको छ । 'वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसेँ, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिएँ, फर्कन मन लागेन', बस्नेतले भन्नुभयो, 'जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखेँ, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन् ।'

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाउनुभएको छ । उहाँले खोर निर्माणमै लाखौँ लगानी गर्नुभएको छ । दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माण गर्नुभएको छ  भने बाख्रा फर्म वरपरको जग्गा तारबार गरेर व्यवस्थितसमेत गर्नुभएको छ । 
 
'विदेशको दुःखसमेत भोगियो, नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हुँ, अहिले बाख्राका पाठा–पाठी हुर्काउनका लागि आवश्यक दूधका लागि समेत दुई वटा गाईसमेत पाल्दै आएको छु', बस्नेतले भन्नुभयो, 'पहिलो वर्ष फर्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो ।' सरदरमा अहिलेसम्म १२ देखि १५ लाख आम्दानी भए पनि आम्दानी फर्म विस्तारमै खर्च गरिएको उहाँको भनाइ छ । 

अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन् । बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उहाँको भनाइ छ । फर्ममा उत्पादित खसी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाइ छ । 

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गएकाे आर्थिक वर्षमा एक लाख रुपैयाँ अनुदानमा ट्रस्ट निर्माण गरेको उहाँको भनाइ छ । बाख्रापालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पालन गर्ने जानकारी दिनुभयो । स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बस्नेतको भनाइ छ । फर्ममा उन्नतजातको बोयर जातकाे बोकासमेत रहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया