आहा ! गाईखुरे झरना

 साउन २, २०८० मंगलबार १३:३०:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ भोटेओडारका प्रेम गुरुङ बर्सेनि बर्खाको समयमा गाईखुरे झरना पुग्नुहुन्छ । यहाँ आउँदा उहाँलाई रमाइलो अनुभूति हुन्छ । विगतमा साथीभाइसँग झरना पुग्ने उहाँ यसपालि साउने सङ्क्रान्तिको दिन सोमवार श्रीमती र सानी छोरीको साथमा पुग्नुभयो । घर–परिवारको साथमा झरनामा रम्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

‘बर्खाको समयमा मात्र झरनाबाट पानी झर्छ । प्राय बर्सेनि झरनामा आइन्छ । यसपालि घरपरिवारको साथमा झरनामा आएको हाे । यहाँ आउँदा झरनाको चिसो पानीका साथै यहाँको प्राकृतिक सौन्दर्यले खुशी तुल्याउँछ’, कराँते खेलका प्रशिक्षकसमेत रहनुभएका प्रेमले भन्नुभयो ।

गुरुङ दम्पती झरनामा फोटो खिच्न व्यस्त हुनुहुन्थ्यो । उहाँहरूमात्र होइन अहिले लमजुङको बेसीशहर नगरपालिका–१ उदीपुरमा पर्ने गाईखुरे झरनामा दैनिक सयौँ सङ्ख्यामा मानिसहरू आउने गर्दछन् ।

शान्त अनि मनोरम वातावरण

केही उचाइबाट झरेको चिसो पानी । आडैमा मध्य–मर्स्याङ्दीकाे बाँधस्थल । मनै भुलाउने मनोरम अनि शान्त वातावरण । लमजुङको गाईखुरे झरनामा पुग्दा एकैसाथ यी विशेषता नियाल्न पाइन्छ । सँगै शान्त, मनोरम वातावरणमा मन टहलाउन पाइन्छ ।

त्यसैले पनि डुम्रे–बेसीशहर सडक खण्डको छेउमै पर्ने गाइखुरे झरनामा रम्नेको अहिले भिड छ । चिसो झरनाको पानीमा पौडी खेल्ने, नुहाउनेको भिड देख्न सकिन्छ । गाईखुरे झरना साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ । 

फोटो खिच्ने, टिकटक बनाउनेको भिड

चिसो बताससँगै झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने, टिकटक बनाउनेको पनि उत्तिकै भिड देख्न सकिन्छ ।

पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा, यहाँको प्राकृतिक सौन्दर्य नियाल्न पाउँदा निकै खुशी मिलेको गोरखा पालुङटारकी विद्या सुनारले बताउनुभयो ।

‘माइती (सुन्दरबजार) आएको बेला बहिनीहरूको साथमा आज झरनामा आई यहाँको प्राकृतिक सुन्दरता नियाल्न पाउँदा साह्रै खुशी लाग्यो’, उहाँले प्रसन्न मुद्रामा भन्नुभयाे ।

सडक छेउमै भएकाले गाडी वा मोटरसाइकल रोकेर झरनामा एकैछिन भए पनि रमाउनेहरू धेरै छन् ।

प्रेमी–प्रेमिकाका लागि आकर्षक गन्तव्य !

गाईखुरे झरना प्रेमी–प्रेमिकाका लागि आकर्षक गन्तव्य बनेको त्यहाँ पुग्ने जोकोहीले देख्न सक्छन् । झरना हेर्न अनि झरनासहितको तस्बिर खिच्न प्रेमिल जोडीहरू व्यस्त भइरहेका भेटिन्छन् ।

प्रेमी जोडीसँगै झरनामा विवाहित जोडी पनि धेरै पुग्ने गरेका छन् । चाडपर्व, बिदाको दिन झरनामा बढी भिड लाग्छ । बर्खायाममा झरना हेर्न र यहाँ रमाउन पुग्नेहरूको भिड लागेको हो । तर हिउँदमा यो झरना प्राय सुनसानजस्तै हुन्छ । हिउँदमा झरनामा पानी हुँदैन ।

रोजगारी सिर्जना गर्न सकिने सम्भावना

नजिकै बगेको मर्स्याङ्दीकाे पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई तान्न सकिने झरनामा पुग्नेहरू बताउँछन् ।

यहाँ बाह्रै महिना झरना सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेकाले यसमा पालिकाका साथै सरोकारवाला पक्षहरूको ध्यान जानु जरुरी रहेको अहिले बेसीशहरमा बस्दै आउनुभएका प्रेम गुरुङले बताउनुभयो ।

त्यसो त यस झरनामा विभिन्न समयमा 'क्यानोनिङ' समेत हुने गरेको छ । यहाँ 'क्यानोनिङ' को पनि उत्तिकै सम्भावना छ ।

लमजुङमा गाईखुरे झरनामा मात्र नभएर बाह्रै महिना 'क्यानोनिङ' गर्न सकिने झरनाहरू पनि छन् । लमजुङको उत्तरी क्षेत्रमा पर्ने राइदु, घोप्टे, च्याम्चे, छहरे र तातोपानी खोलामा 'क्यानोनिङ' को सम्भावना रहेको जानकारहरू बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया