भारत : मणिपुरमा २ जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना

 साउन ४, २०८० बिहिबार १५:४:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । केही महिनादेखि जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो हिजो बुधवार सार्वजनिक भएको हो । यो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् ।

सांसद असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले कसरी देश चलाइरहेका छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको बताउनुभएको छ । कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्केले मणिपुरमा मानवीयता मरेको भन्दै प्रधानमन्त्री मोदीले कहिल्यै माफी पाउन नसक्ने बताउनुभएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको छ । मोदीले घटनाबारे बताउँदै आफ्नो मन पीडाले भरिएको र देशकै अपमान भइरहेकोले दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको हो । विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएकामा हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलो पटक बोल्नुभएको हो ।

महिलामाथि यौन दुर्व्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको शिकार भएको बताएको छ । प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरिएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बीबीसी हिन्दीको खबरमा उल्लेख  छ ।

मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले दोषीलाई कडा कारबाही हुने बताउँदै यस घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको दाबी गर्नुभएको छ । सर्वोच्च अदालतले पनि यस विषयमा सरकारको जवाफ मागेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया