मनकारी सत्यनारायण: अाफ्नै खर्चमा बाल अाश्रम चलाएर बेवारिसे बच्चा पाल्दै

 कात्तिक १३, २०७५ मंगलबार १५:०:४१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरको कविर अनाथ बाल आश्रममा एउटा नवजात शिशु थपिएको छ । 

गएको शुक्रबार महोत्तरीको सोनमा गाउँपालिका–८, बैरियामा रहेको बाँसघारीमा एउटी मानसिक सन्तुलन गुमेकी महिलाले जन्माएको नवजात छोरी सोमबार साँझ गाउँलेले आश्रमलाई जिम्मा लगाएको हो ।
 
महोत्तरीको औरही नगरपालिका–६, खोपीका स्थानीयहरुले आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई शिशु जिम्मा लगाएका हुन् । यससँगै आश्रममा १० छोरी र २ छोरा गरी बालबालिकाको संख्या १२ पुगेको छ ।
 
गएको शुक्रबार सोनमा गाउँपालिका–८, बैरियाको बाँसघारीमा मानसिक सन्तुलन गुमेकी महिलालाई व्यथा लाग्दा चिच्याएपछि स्थानीय महिलाहरु जम्मा भएका थिए । 

त्यसको केहिबेरपछि बच्चा जन्मेको थियो । महिलालाई बेथा लागेकै बेला सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव र स्थानीय मगरथाना प्रहरी चौकीलाई त्यसका बारेमा जानकारी गराइएको थियो ।
 
अध्यक्ष यादवले ती महिला कहाँकी हुन् भनेर पत्ता लगाउँदै जाँदा छिमेक औरही गाउँपालिका–६ खोपीका विजुली साह सोनारकी छोरी रहेको पत्ता लागेको थियो । 

तर महिलाका बुबा विजुली साहले छोरीको १४ वर्षको उमेरमा बिहे गरेको र त्यसै बेलादेखि मानसिक सन्तुलन गुमेर बाहिर–बाहिरै रहने गरेको बताउँदै अनैतिक सम्बन्धबाट बच्चा जन्मेको भन्दै राख्न अस्वीकार गर्नुभएको थियो ।

स्थानीयका अनुसार समाजिक दबाबमा बिजुलीले छोरी र शिशुलाई राख्नुभएको थियो । तर केहि बेरपछि ती महिलाले बच्च पुनः बाँस घारीमा छाडेर भागेकी थिइन् । 


मानसिक सन्तुलन गुमेकी आमाले समेत शिशुलाई छाडेर भागेपछि शिशुको बिजोग भएको थियो । कसैले पनि राख्न स्वीकार गर्न नमानेपछि औरही नगरपालिका वडा नं.–६, का वडाअध्यक्ष नरेश यादवको सिफारिसमा स्थानीयबासिन्दाले सोमबार साँझ नवजात शिशुलाई जनकपुरमा रहेको सदगुरु कविर अनाथ बाल आश्रमलाई जिम्मा लगाएर फर्केका छन् ।
 
मानसिक सन्तुलन गुमेकी महिलालाई कसैले जबजरजस्ती करणी गरेको कारणबाट शिशु जन्म भएको हुनसक्ने आश्रमका सञ्चालक आलोकले बताउनुभयो ।

पछिल्लो समय समाजमा अनैतिक सम्बन्धबाट जन्मेका शिशु फाल्ने, मानसिक सन्तुलन गुमेकी महिलामाथि पनि जवरजस्ती करणी गर्ने, कतिपयले छोरी नै जन्मेको कारण फाल्ने जस्ता विकृति बढेकाले यस्ता अपराधीहरुलाई प्रहरी प्रशासनले पत्ता लगाएर कडा कार्बाही गर्नुपर्ने आश्रमका सञ्चालक आलोकको भनाई छ ।
 
आश्रममा शिशुलाई जिम्मा लगाएर गाउँलेहरु फर्केको केहि समयपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव पुगेर शिशुको विषयमा जानकारी लिनुभएको थियो । 

उहाँले आश्रमका सञ्चालक आलोकले गरिरहेको उदाहरणीय कार्यको लागि प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउन अभियान’ अन्तर्गत केही सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।  
 
आश्रममा अहिले रहेका ११ बालबालिका पनि विभिन्न स्थानमा जन्मेपछिे बेवारिशे रुपमा फालिएको अवस्थामा फेला परेका थिए । आश्रमका सञ्चालक आलोकले ती सबै बालबालिकालाई नवजात शिशुको अवस्थाबाटै आश्रममा ल्याई पालनपोषण गर्दै आउनुभएको छ ।

अहिले पाँचजना बालबालिका विद्यालयमासमेत पढ्न थालेका छन् । यस क्षेत्रमा कतै कुनै बेवारिशे अवस्थामा शिशु फेला पर्दा यही अनाथ आश्रममा जिम्मा लगाउने गरिए पनि सरकारी स्तरबाट खासै सहयोग भएको छैन । आश्रम दाताहरुकै भर र आफ्नो मिहिनेतले जेनतेन चलिरहेको आलोकको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया