एकै वर्ष ६८ अर्बको आईटी सेवा निर्यात भयो, १० वर्षमा नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकिन्छ

 साउन २१, २०८० आइतबार २०:१५:५ | रिचन श्रेष्ठ
unn.prixa.net

नेपालले सूचना प्रविधिको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्दै गइरहे पनि यसलाई सङ्गठित गरेर अघि बढ्न सकिएको थिएन । सबै व्यवसायीहरूले आ–आफ्नो कम्पनीमा बसेर बाहिरबाट काम ल्याएर आफ्नो हिसाबले काम गरिरहनुभएको छ । गएको २० वर्षमा हामीले उद्योगको रूपमा एउटा चरण पार गर्‍याैँ । हामीले शुरुवाती चरण पार गरेका छौँ । अर्को चरणमा जानका लागि र नेपाललाई अन्तर्राष्ट्रिय केन्द्र (ग्लोबल हब) भनेर नचिनाउँदासम्म छलाङ मार्न गाह्रो छ । यसकारण हामीले विश्व मञ्चमा कसरी आफूलाई परिष्कृत स्वरूपमा देखाउने भनेर तयारी गर्न आवश्यक छ । त्यसका लागि नीतिगत अप्ठ्याराहरू के छन् र सरकारको तर्फबाट के सहयोग भयो, त्यसबाट के लाभ लिन सक्छौँ भनेर हामीले गएको फेब्रुअरीमा नेपाल एसोसिएशन फर सफ्टवयर एन्ड आईटी सर्भिसेज (न्यास आइर्टी) को स्थापना गर्‍याैँ ।

न्यास आईटी नेपालको पहिलो सफ्टवेयर एसोसिएशन हो । यसको उद्देश्य भनेको नेपालको टेक्नोलोजी इकोसिस्टमको विकास गर्ने हो । साथै नेपाललाई प्रविधि केन्द्रको रूपमा संसारमा चिनाउन पनि सङ्गठन बनाएका हौँ । यसमा अहिले ५० वटा सदस्य कम्पनीहरू छन् । जसमा स्टार्टअपदेखि स्थापित कम्पनीसम्म छन् । जस्तो लिप फ्रग, क्विक फक्स, तथा फ्युज मेशिनलगायतका स्थापित कम्पनीदेखि, क्विक आरपीए, भेदा जस्ता स्टार्टअप कम्पनी आबद्ध छन् ।

हामीले काम गरेर सफलता प्राप्त गरिरहेको थियौँ । तर काम गरेर मात्र भएन बाहिर पनि चिनाउनु पर्यो भनेर नै यो छाता सङ्गठन खोलेका हौँ । हाम्रा यहाँका कम्पनीहरूले गुगलको, माइक्रोसफ्ट, सोनीको काम गरिरहेका छन् । त्यो कुरा कसैलाई थाहा छैन । हामीले आफूले गरिरहेको कामलाई बजारीकरण गर्न सकिरहेका छैनौँ । संसारमा चिनाउने हो भने हामीले गरिरहेका राम्रा कामहरूको बजारीकरण गर्नु एकदमै महत्त्वपूर्ण छ ।

६८ अर्ब रुपैयाँको आईटी सेवा निर्यातपछिको बहस

सूचना प्रविधिको क्षेत्रमा सेवा निर्यात भनेको हाम्रो कम्पनी वा जनशक्तिले बाहिरका सेवाग्राहीका लागि चाहिने सेवा प्रदान गर्ने हो । सन् २०२२ मा नेपालका सूचना प्रविधि कम्पनीले झन्डै ६८ अर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गरे । कसैलाई सफ्टवेयर विकासको सेवा, कसैलाई सामग्री (कन्टेन्ट) विकासको सेवा, कसैलाई क्लाउड सेवा आदि चाहिन्छ । त्यो सेवा नेपालमा बसेर विदेशमा रहेका सेवाग्राहीलाई प्रदान गर्नु नै सूचना प्रविधि सेवा निर्यात हो ।

अरू क्षेत्रमा हामी नुनदेखि सुनसम्म आयात गर्छाैँ भने पनि सूचना प्रविधिको क्षेत्रमा भने हामी धेरै क्षेत्रमा सक्षम भइसकेका छौँ । सूचना प्रविधि क्षेत्रमा हाम्रो यात्रा २०/२२ वर्षको भइसकेको छ । अहिले नेपालमा केही यस्ता कम्पनीहरू छन् जो अमेरिकाको नास्दाकमा सूचीबद्ध कम्पनीहरूमा छन् । अमेरिकाको नास्दाकमा सूचीबद्ध सार्वजनिक कम्पनीको शाखा नेपालमा हुनु भनेको सानो कुरा होइन । हामीमा केही सीप छ, दक्षता छ भनेर नै ती कम्पनीहरू यहाँ स्थापित भएका छन् । यसकारण गएको २० वर्षमा हामीले ठूलो फड्को मारिसकेका छौँ । तर दुर्भाग्यवश यो उद्योग कस्तो छ भनेर कसैले पनि चासो लिएको क्षेत्र भने होइन । तर भित्रभित्रै यो क्षेत्रले धेरै ठूलो काम गरिसकेको छ ।

धेरैजसो सूचना प्रविधि कम्पनी प्रविधि विज्ञले सञ्चालन गर्ने, काम पनि नेपाल बाहिरको हुने र कामको अर्डर पनि बाहिरकै सञ्जालबाट ल्याउने भएको हुनाले सरकारले वास्ता गरेको थिएन । कम्पनीलाई पनि सरकारसँग खासै वास्ता थिएन । आफ्नै हिसाबले सहज भइरहेको हुनाले हामी आफ्नै ढङ्गले काम गरिरहेका छौँ । त्यसकारण अहिलेको अवस्थासम्म आइपुग्न सजिलो भयो होला । तर अब यो क्षेत्रलाई अगाडि लैजान सरकारको साथ, समर्थनको एकदमै जरुरी छ ।

इन्स्टिच्युट फर इन्टिग्रेडेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको एक रिपोर्टले गएको अङ्ग्रेजी वर्ष सन् २०२२ मा नेपालले झन्डै ६८ अर्ब रुपैयाँको आईटी सेवा निर्यात गरेको देखाएको छ । त्यसका लागि हामी आईआईडीएसप्रति र सर्वेक्षणमा भाग लिने साझेदारहरूप्रति आभारी छौँ । यसले सूचना प्रविधि क्षेत्रको सम्भाव्यता कति छ भन्ने देखायो । भित्रभित्रै त यति धेरै सफलता हात परेको छ भने सबैको सहयोग हुने हो भने यो अर्बाैँ डलरको उद्योग बन्न सक्ने कुरा रिपोर्टले देखाएको छ ।

यो सर्वेक्षणमा दुई वटा भाग छन् । एउटा सूचना प्रविधि उद्योग भन्ने छ । अर्को भनेको सूचना प्रविधि सक्षम सेवा (इनेबल सर्भिसेज) अर्थात् आईटीईएस भन्ने छ । सूचना प्रविधि उद्योगलाई प्रविधि कम्पनी भनिन्छ । जसले सफ्टवयर उत्पादन गर्छ । आईटीईएस भनेको प्रविधिलाई प्रयोग गरेर विभिन्न किसिमका सेवा प्रदान गर्छ । जस्तो सामग्री लेखन, ट्रान्सक्रिप्सन सेवा, युट्युबको भिडियो बनाउने, सामाजिक सञ्जालको विभिन्न सेवाहरू आईटीईएस अन्तर्गत पर्छ ।

अहिले बङ्ग्लादेशमा हेर्ने हो भने सूचना प्रविधि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा एक अर्ब पाँच करोड डलरको छ । सूचना प्रविधिको क्षेत्रमा त्यहाँ २० लाख जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अब सन् २०२५ मा पाँच अर्ब डलरको उद्योग बनाउँछु भनेर लागेको छ बङ्ग्लादेश । त्यसका लागि भने ३० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । नेपालले पनि यस्तै कार्ययोजना बनाएर हिँड्ने हो भने त्यो सम्भव छ । आजको दिनमा नेपाल प्रविधिका लागि आफैँमा स्टार्टअप हो । हामीले सेवा कसरी दिने, काम कसरी गर्ने भनेर मार्गचित्र बनाइसकेका छौँ । अबको चरण भनेको हामीले आफूले आफूलाई कहाँ लगेर चिनाउने, कुन क्षेत्रमा चिनाउने भन्ने हो ।

यसमा हामीले आफूलाई छिमेकी देश भारतसँग तुलना गर्न मिल्दैन । किनकि त्यहाँ हरेक वर्ष पाँच लाख जना स्नातक इन्जिनियर उत्पादन हुन्छन् । त्यसकारण हामी जनसङ्ख्याका हिसाबले पनि भारतको दाँजोमा पुग्न सक्दैनौँ । आफ्नो वरपरको अवस्था हेर्नुपर्यो । सामाजिक, आर्थिक सबै अवस्थालाई पनि हेर्नुपर्छ । यसकारण हामीसँग भएको दक्षता, क्षमतालाई सूचना प्रविधिको पनि कुन क्षेत्रमा निर्दिष्ट गर्ने भनेर पत्ता लगाउन सक्यौँ भने आउने १० वर्षमा हामीले पाँच अर्ब डलरको उद्योग बनाउन सक्छौँ ।

नेपालीले पाएको विश्वास

एकै वर्ष झन्डै ६८ अर्ब रुपैयाँको आईटी सेवा निर्यात गर्न सजिलो थिएन । शुरुमा हामीलाई विदेशीले विश्वास गरेनन् । तिमीहरूलाई किन विश्वास गर्ने त ? भने । नेपाल विश्वमा सगरमाथा र खराब राजनीतिका लागि चिनिन्छ । सूचना प्रविधिका लागि त नेपाल चिनिँदैन । विदेशमा रहेका नेपालीहरू जो अमेरिका, जापान तथा युरोपमा हुनुहुन्थ्यो, उहाँहरूले नेपालमा केही गर्छु भनेर कम्पनी खोल्नुभयो । उहाँहरूले आफ्नो प्रतिष्ठा दाउमा राखेर सानो सानो काम लिनुभयो । अनि यहाँ भएको टिमले काम गर्दै गयो । त्यसपछि विदेशीले यहाँको डेभलपरले राम्रो काम गर्दा रहेछन् भन्ने थाहा पाउँदै गए । त्यसरी विश्वास बढ्दै गएको हो । गएको २० वर्षमा त धेरै नेपाली कम्पनीले धेरै विदेशीहरूसँग काम गरिसके । त्यस हिसाबले हाम्रो सञ्जाल पनि बढेको छ । विश्वास पनि बढेको छ ।

सर्वेक्षणलाई लिएर विभिन्न तर्क

सन् २०२२ मा सूचना प्रविधि क्षेत्रबाट झन्डै ६८ अर्ब रुपैयाँको सेवा निर्यात भएको भन्ने तथ्याङ्क आएपछि यसमा विभिन्न किसिमका तर्कहरू आइरहेको छ । आईआईडीएको यो सर्वेक्षणलाई लिएर आफ्नै किसिमका तर्कहरू रहेका छन् । कतिपयले योभन्दा निकै धेरै निर्यात भएको र सर्वेक्षणमा कमी देखाइएको बताएका छन् । कतिपयले यति धेरै निर्यात होइन बढाइचढाइ भयो भनिरहेका छन् ।

आईआईडीएसको सर्वेक्षणमा जम्मा एक सय छ वटा कम्पनीले आईटी सेवा निर्यात गरेको उल्लेख छ । तर कतिपयले यसको पनि पक्ष र विपक्षमा बहस गरिरहेका छन् । तर जसले जे भने पनि यो सर्वेक्षण हाम्रा लागि ऐना हो । सूचना प्रविधि क्षेत्रको विकासको अवस्था र सम्भावना यसले राम्रोसँग देखाएको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालबाट आईटी सेवाको निर्यात ६४ प्रतिशतले बढेको छ ।

त्यति धेरै छलाङ कसरी भयो भन्ने हामीलाई पनि थाहा छैन । सूचना प्रविधि क्षेत्र कसरी अगाडि बढ्दैछ भन्ने यो त एउटा सङ्केत मात्र हो । गएको वर्ष कति निर्यात भयो भन्ने कुरामा अब तर्क वितर्क नगरौँ । अब हामी कसरी अगाडि बढ्छौँ त्यो महत्त्वपूर्ण कुरा हो । हामी अगाडि बढ्नुपर्छ भन्ने सङ्केत यो सर्वेक्षणले दिएको छ । यसले राम्रो खुशी हुने बाटो देखाइदिएको छ । अहिले हामी सङ्ख्यामा रहेर तर्क वितर्क गर्न थाल्यौँ भने यसमै अड्किन्छौँ । सूचना प्रविधिको क्षेत्र अत्यधिक सम्भावना भएको क्षेत्र हो । यसलाई कसरी राम्रो बनाउने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।

तर सूचना प्रविधि क्षेत्रका उद्योगको व्यापक विस्तार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि सहयोगी प्रणाली हामीकहाँ छैन । कतिपय गर्न सक्ने ठाउँमा पनि हामीले सेवा र कामको विस्तार गर्न सकेका छैनौँ । हामीसँग सहयोगी नीति छैन । बजारको पहुँच कसरी बनाउने भन्ने ठूलो चुनौती छ । विदेशमा गएर कसरी बजारीकरण गर्ने, कसरी व्यवसाय विकास गर्ने र समर्थन पाउने भन्ने ठूलो चुनौती छ । परिपक्व लगानी कोष छैन ।

हामीले जनशक्ति पलायनका कारण पनि मध्यम र उच्च क्षमताका इन्जिनियर गुमाउनु परिरहेको छ । उहाँहरू अमेरिका, अस्ट्रेलिया जानुहुन्छ । त्यसले पनि हाम्रो उद्योगको विकासमा निकै बाधा पुर्‍याएको छ । तर यति भन्दा भन्दै पनि अरू क्षेत्रबाट कुनै सहयोग नहुँदा नहुँदै पनि एउटा उद्योगको रूपमा हामी यो ठाउँसम्म भने आफैँ आइपुग्यौँ ।

तर आज सबैबाट सहयोग प्राप्त हुँदै पनि आइरहेको छ । सरकारले पनि यसलाई सुनेको छ । अरू सरोकारवाला निकायले पनि यसलाई चासोको रूपमा हेरेका छन् । यति चासो र सहयोग सबै ठाउँबाट आउन सक्छ भने हामीले नेपाललाई आउने १० वर्षमा प्रविधि केन्द्रको रूपमा स्थापित गर्न सक्छौँ ।

१० वर्षमा सूचना प्रविधिको अर्थतन्त्र पाँच अर्ब डलरको बनाउन यसरी सम्भव छ

अबको १० वर्षमा सूचना प्रविधिको अर्थतन्त्र पाँच अर्ब डलरको बनाउने कुरा हामीले धरातलमै टेकेर गरिरहेका छौँ । किनभने सरसर्ती हिसाब गर्दा सेवा उद्योगमा काम गर्ने हो भने सेवाग्राहीका लागि इन्जिनियर उपलब्ध गराउँछौँ । अहिले पनि हेर्ने हो भने हरेक इन्जिनियरको कम्पनीले दुई हजारदेखि चार हजार डलर सेवाबापत लिने गर्छन् । अलि सङ्कुचित हुँदा पनि हामीले दुई हजार डलर सेवाबापत लिने हो भने पनि एक लाख ५० हजार जना इन्जिनियर चाहिने रहेछ पाँच अर्ब डलरको उद्योग बनाउनका लागि । नेपालमा सूचना प्रविधिमा युवाहरूको आकर्षण, स्कुलदेखि नै जनशक्ति तयार भइरहेको अवस्थालाई हेर्दा आउने १० वर्षमा एक लाख ५० हजारदेखि दुई लाख जनशक्ति बनाउनु त्यति ठूलो कुरा होइन । त्यसलाई सजिलै भेटिने फलको रूपमा हेर्न सकिन्छ ।

अहिले नेपालीले अमेरिकाको स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूला कम्पनीहरूमा पनि काम गरिरहेका छन् । शेडारगेट, कोटिभिटी, टेकक्राफ्ट, डियरवाक, डियर होल्ड लगायतका कम्पनीले अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् । त्यस्तै फिन्टेकको क्षेत्रमा काम गर्ने कम्पनीहरू धेरै छन् । अहिले डेटा र एआई मेशिन लर्निङको कुरा पनि धेरै आइरहेको छ । फ्युज मेशिन, ग्रो बाई डेटा कम्पनीहरू धेरै नै लागिपरेका छन् ।यी कम्पनीमा काम गर्ने नेपालीको सीपलाई नेपालमै प्रयोग गर्न सकेमा हामीले पाँच अर्ब डलरको उद्योग बनाउने कुरालाई सपनाको रूपमा लिनु पर्दैन ।

सरकारले दिइरहेको साथ

सूचना प्रविधिको क्षेत्रमा बल्ल सरकारले साथ दिन थालेको छ । गएको मार्चमा हामीले न्यास आईटी स्थापना गरेपछि मन्त्री तथा अरू सङ्घ–संस्थाका प्रतिनिधिहरूसँग भेट्ने मौका पनि पायौँ । बजेट अगाडि हाम्रो भेट अर्थमन्त्रीसँग भयो । दुई घण्टाको बैठकमा उहाँले हाम्रा कुरा सुन्नुभयो र बजेटमा राम्रा विषय समावेश पनि गर्नुभयो ।

जस्तो– कुनै पनि प्रविधि कम्पनी शुरुवात गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । दुई करोड भनेको धेरै ठूलो पैसा हो । भोलि कम्पनी विकसित हुँदै जाँदा धेरै ठूलो पुँजी पनि चाहिन्छ । तर शुरुवाती चरणमा धेरै पुँजी चाहिँदैन । त्यसकारण हाम्रो प्रत्यक्ष वैदेशिक लगानीको सीमालाई एकदमै न्यून बनाइदिन पर्यो भनेर अर्थमन्त्रीसँग भनेका थियौँ । त्यो कुरालाई सुनेर उहाँले सूचना प्रविधि क्षेत्रका लागि त्यसको सीमा हटाइदिनु भएको छ ।

मौद्रिक नीतिमा पनि त्यसको सम्बोधन भएको छ । त्यसको कार्यान्वयनको पाटोको सम्बन्धमा स्पष्टता आउँदै जाला । अब सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानीको सीमा दुई करोडबाट घटेर पाँच लाख, १० लाख वा २० लाख होला । अमेरिकामा केही साथीहरू यसको सीमितता कहिले घट्छ भनेर बसिरहनु भएको थियो । अब त्यो कार्यान्वयनमा आएको दिन उहाँहरूले तुरुन्त नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरेर कम्पनी शुरु गर्नुहुन्छ ।

सरकारले पनि कसरी हेर्नुपर्छभन्दा प्रविधि कम्पनी शुरु गर्नका लागि प्रत्यक्ष वैदेशिक लगानी धेरै चाहिँदैन । जलविद्युत् जस्तो अर्बौँ रुपैयाँको लगानी शुरुमा आउँदैन । तर यदि त्यो शुरुवाती कम्पनी भोलि फस्टाउँदै गयो भने त्यसले यहाँ भोलिका दिन धेरै लगानी ल्याउन सक्छ । हजारौँ उच्च भुक्तानी दिने रोजगारी सिर्जना गर्छ । प्रविधि कम्पनी भनेको दुई जना मान्छले शून्य लगानीमा पनि शुरु गर्न सक्ने कुरा हो ।

बजेटमा आएको विषय कार्यान्वयन भयो भने अमेरिका र यहाँको एक जना गरेर दुई जनाले तुरुन्तै संयुक्त रूपमा नेपालमा कम्पनी शुरु गर्न सक्ने भए । हामी विदेशी मुद्रा चाहियो, विदेशी सेवाग्राही पनि चाहियो भनिरहेका छौँ । तर हामीलाई विदेश जाने कुनै वातावरण छैन । किनकि हामी न त्यहाँ कम्पनी खोल्न सक्छौँ न त्यहाँ जनशक्ति परिचालन गर्न सक्छौँ । त्यसलाई पनि अहिलेको बजेटको कुराले सम्बोधन गरेको छ ।
नेपालमा विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरूले त्यसको १० प्रतिशत विदेशमा शाखा कार्यालय खोल्न, कर्मचारी राख्न, बजारीकरणका लागि खर्च गर्न सक्ने भन्ने व्यवस्था पनि छ अहिलेको बजेटमा । मौद्रिक नीतिमा पनि त्यो कुरा सम्बोधन भएको छ । यो भनेको हाम्रा लागि धेरै ठूलो कुरा हो । बाहिरको लगानीकर्ता र साझेदारलाई पनि सजिलै ल्याउन सक्यौँ भने हामी पनि सजिलै विदेश जान सक्यौँ । सरकारले ल्याएको यो कानुन पूर्ण होइन । तर धेरै ठूलो शुरुवात हो ।

तर नेपालीले नेपालमै बनाएका केही सफ्टवेयर खरिदमा भने सरकारले भेदभाव गर्दै आएको छ । नेपालमा नै सफ्टवेयर बनाउन सकिने, एपहरू विकास गर्न सकिने हुँदा हुँदै पनि बाहिरका कम्पनीलाई अवसर दिने गरिएको छ । हाम्रो खरिद प्रक्रिया नै यस्तो बनाइएको छ कि यहाँका कम्पनीले भाग लिन सक्ने अवस्था नै छैन । त्यसमा सहजीकरण गर्न जरुरी छ ।

नेपाल सरकारले हरेक वर्ष दशौँ लाख डलर सफ्टवेयर खरिद गर्नका लागि भनेर बाहिर पठाइरहेको अवस्था छ । नेपालमै रहने पैसा विदेश गइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनीले दिने सेवा र यहीँको कम्पनीले दिने सेवामा निकै ठूलो अन्तर छ । किनकि हामी यहीँ भएका कारण हामीलाई कारबाही गर्न सक्छ । अन्तर्राष्ट्रिय कम्पनीलाई कहाँ गएर समात्ने ? पासपोर्टमा अहिले यस्तै समस्या आएको हो । त्यसकारण सार्वजनिक खरिद सम्झौतामा नेपाली कम्पनीहरूलाई कसरी सक्षम बनाउने, ठूला खरिद सम्झौतामा कसरी सामेल गर्ने भन्ने कुरामा हामीले अभ्यास गर्नुपर्छ । यसले गर्दा आउने दिनमा हामी पनि बलियो हुने र सरकार पनि बलियो हुने अवस्था आउँछ ।

अर्को कुरा, सरकार नियामक निकायका रू पमा आउनु भएन, सहजकर्ताको रूपमा आउनुपर्यो । पहिले सूचना प्रविधिको उद्योगलाई हुर्काउनु पर्यो अनि पछि मात्रै यसबाट ब्याज खाने कुरा आउँछ ।

सूचना प्रविधि क्षेत्रको जनशक्ति र विदेश पलायनका कुरा

सूचना प्रविधिको क्षेत्रमा अहिले जति पनि नेपाली छन्, यो जनशक्ति उत्पादनमा नेपालकै भूमिका धेरै छ । किनभने जनशक्ति उत्पादनका लागि त नेपालले नै लगानी गरेको छ । स्कुल तथा कलेजको शिक्षामा सरकार र नागरिककै लगानी भएको छ । तर यो जनशक्तिलाई अर्को चरणमा लैजानका लागि विदेशी कम्पनी र हामीले गरिरहेका अन्तर्राष्ट्रिय सहकार्यले काम गरिरहेको छ ।

हाम्रो जुन सहकार्य भइरहेको छ त्यसले हाम्रो जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको सीप हासिल गर्नका लागि धेरै नै मद्दत पुगिरहेको छ । त्यो नभएको भए हामी त्यति प्रतिस्पर्धी हुँदैन थियौँ । हामीले नेपालका लागि, नेपाली सङ्घ–संथाका लागि मात्रै काम गर्यौँ भने हाम्रो अन्तर्राष्ट्रियस्तर कहिल्यै पनि बढ्दैन । त्यहाँबाट सिकेर हामीले यहाँ सेवा दिँदा पनि अन्तर्राष्ट्रियस्तरको हुन्छ । अनि बल्ल हाम्रो गुणस्तर राम्रो हुन आउँछ । 
कुनै पनि सूचना प्रविधिको जनशक्ति सबै कुरा यहीँ सिक्छु भन्दा त्यो सीमित हुन्छ । जस्तै– अहिले हाम्रो विश्वविद्यालयहरूको पाठ्यक्रम पनि प्रगतिशील छ पहिलेको दाँजोमा । केही पनि परिवर्तन भएको छैन भनेर भन्न मिल्दैन । परिवर्तन भएको छ तर त्यसलाई समय सान्दर्भिक बनाउन चाहिँ महत्त्वपूर्ण छ । पहिले विश्वविद्यालयबाट निस्कने जनशक्ति र अहिलेको निस्कने जनशक्तिमा धेरै फरक पाइन्छ । अहिले पढ्नलाई निःशुल्क अनलाइन कोर्सहरू पनि त्यत्तिकै उपलब्ध छ । कहाँबाट र कसरी लिने भन्ने मात्र हो ।

विदेशमा काम गरिरहेका दक्ष जनशक्तिलाई यहाँ काम गर्ने अवसर छ तर नेपाल फर्किहाल भन्ने अवस्था भने अहिले भइसकेको छैन । हामीले उनीहरूलाई फर्काउनुपर्छ भनेर पनि धेरै ऊर्जा खर्च नगरौँ । उनीहरू त्यहाँ बसेर ठूलाठूला कम्पनीमा काम गरेको अनुभव छ, त्यहाँ काम गरेको सम्बन्ध छ, ज्ञान/सीप छ बरु त्यसलाई कसरी उपयोग गर्ने भनेर सोच्नु चाहिँ बढी महत्त्वपूर्ण हुन्छ । अहिलेको विश्व परिवेशमा को कहाँ बस्छ भन्ने कुराले महत्त्व राख्दैन । किनकि यो प्रविधिको क्षेत्रमा त अहिले पनि हाम्रा ५० प्रतिशत जनशक्ति त घरमै बसेर काम गरिरहेका छन् ।

अहिलेको भावी पुस्ताको सूचना प्रविधिमा धेरै नै लगाव देखिन्छ र यसमा अवसर पनि छ । यसकारण हाम्रो जस्तो देशका लागि यो एउटा उपयुक्त उद्योग हो । जसको माध्यमबाट हामीले धेरै ठूलो फड्को मार्न सक्छौँ । भोलि पाँच अर्ब डलरको कम्पनी बनाउन सक्यौँ भने त्यसले विदेशी मुद्रादेखि अर्थतन्त्रमा पनि धेरै नै ठूलो योगदान गर्न सक्छ ।

(रिचन श्रेष्ठ नेपाल एसोसिएशन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज (न्यास आईटी) का अध्यक्ष तथा क्विक फक्स टेक्नोलोजिजका सीईओ हुनुहुन्छ । माथिको लेख उहाँसँगको कुराकानीमा आधारमा तयार पारिएको हो ।)

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रिचन श्रेष्ठ

श्रेष्ठ नेपाल एसोसिएशन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज (न्यास आईटी) का अध्यक्ष तथा क्विक फक्स टेक्नोलोजिजका सीईओ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया