विद्यालयलाई प्रविधिमैत्री बनाउन विभिन्न सामाग्री हस्तान्तरण

 साउन २४, २०८० बुधबार १२:३७:४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीमा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । 

विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा सूर्य नेपाल नामक संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टर लगायतका २२ लाख रुपैयाँ बराबरका सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकाे हाे ।  

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समयसापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका सहसचिव बाबुराम गौतम, कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम, अनिल भुसाल लगायतको पहलमा ती सामाग्रीहरु विद्यालयलाई प्रदान गरिएको थियो । 

आफूले पढेको विद्यालयमा केही सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधीमैत्री सामाग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा सामाग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताउनुभयो ।

फ्लाक्स बोर्ड, क्यामेरा, डेक्सटप कम्प्युटर पाँच थान, प्रिन्टर चार थान, ल्यापटप चार वटा, टीभी दुई वटा, इन्भर्टर र ब्याट्रीलगायतका सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक ध्रुव केसीलाई हस्तान्तरण गरिएको छ ।

पूर्व विद्यार्थीहरुको पहलमा विद्यालयमा अत्यावश्यक सामाग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताउनुभयो । उहाँले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गुणस्तरमा पनि वृद्धि हुने अपेक्षा गरेकाे बताउनुभयो ।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किरहेको समयमा पनि यस विद्यालय जिल्लामै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयहरुको सूचीमा पर्ने गरेकाे छ । विद्यालयले गत वर्षको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिनुभयो ।

शिक्षाका कारण बसाइँसराइ बढेर गाउँका सामुदायिक विद्यालयहरु खाली हुँदै गइरहेका छन् । सामुदायिक विद्यालयहरु खाली भैरहेको समयमा विद्यार्थीहरुलाई आधुनिक तरिकाबाट शिक्षा प्रदान गर्न आवश्यक रहेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र प्रविधिमैत्री बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।

२०१७ सालमा स्थापना भएको यस विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै सात सय विद्यार्थी अध्ययनरत छन् । जिल्लाकै कानुन विषयको अध्यापन हुने यस विद्यालयमा शिक्षा, मानविकी, व्यवस्थापन कानुन विषयमा कक्षा सञ्चालन भइरहेकाे विद्यालयका प्रधानाध्यापक ध्रुव केसीले बताउनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क-२ का वडाध्यक्ष मोतिजंग रायमाझी, पूर्वप्रधानाध्यापक नरेन्द्रकुमार क्षेत्री,  मुकुन्दराज आचार्य, भविश्वर खनाल लगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया