राेल्पा बस दुर्घटना : कसले सुनिदिने त्रिपनाको चित्कार ?

 साउन २४, २०८० बुधबार १३:१९:४७ | माधवकुमार ओली
unn.prixa.net

दाङ – ‘मेरो भाइलाई बचाइदिनुस्, मेरो भाइ आईसीयूमा छ बचाइदिनुस् !’, यो चित्कार हो त्रिपना बाँठाको ।

रोल्पाको माडी गाउँपालिका–४ की २८ वर्षीया त्रिपना आफैँ पनि गम्भीर घाइते हुनुहुन्छ । तर उहाँलाई आफ्नोभन्दा पनि कान्छो भाइ जीतबहादुरलाई कसरी बचाउने भन्ने चिन्ता छ । बुबाको केही वर्षअघि नै मृत्यु भएपछि आमा र दुई वटा भाइलाई पाल्ने अभिभारा पूरा गर्दै आउनुभएकी त्रिपना दशैँ खर्चको जोहो गर्न मङ्गलवार बिहानै भारतको सिम्लामा स्याउ टिप्न दुई भाइलाई लिएर हिँड्नुभएको थियो । तर यस वर्षको दशैँ त्रिपनाका लागि जीवनको अविस्मरणीय पीडादायी बन्यो ।

घर्तीगाउँबाट घोराहीको गाडी चढेर घोराहीबाट फेरि गाडी फेर्नुपर्ने थियो तर घोराही नपुग्दै त्रिपनाले जेठो भाइ प्रकाशलाई रोल्पामै सदाका लागि गुमाउनुपर्‍याे । रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा मङ्गलवार दिउँसो भएको बस दुर्घटनामा २२ वर्षीय जेठो भाइ प्रकाशको ज्यान गयो भने त्रिपना र कान्छो भाइ जीतबहादुर गम्भीर घाइते हुनुभयो । त्रिपना र जीतबहादुरको अहिले दाङको घाेराहीमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्रिपनाको ढाडमा गम्भीर चोट लागेको छ भने भाइको खुट्टामा गम्भीर चोट र हड्डी भाँचिएर अत्यधिक रगत बगेका कारण आईसीयूमा उपचार भइरहेको छ । ‘आमा घरमा बेहोस हुनुहुन्छ रे’, त्रिपनाले रुँदै भन्नुभयो, ‘मेरो कान्छो भाइलाई जसरी पनि बचाइदिनुस् ।’ अस्पताल पुग्ने जो–कोहीसँग त्रिपनाले गुहार मागिरहनुभएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा मङ्गलवार यात्रुवाहक बस दुर्घटना हँदा चार जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका छन् । रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रिची भन्ने ठाउँमा अनियन्त्रित भई घुम्ती सडकबाट तल खसेको थियो ।

दुर्घटनामा त्रिपनाका जेठो भाइ प्रकाशसहित माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, डाँगीकी श्रीमती ४६ वर्षीय हस्ता र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । त्रिपना र उहाँको कान्छो भाइ जीतबहादुरसहित अन्य घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा धेरैजसाे रोल्पाको माडी गाउँपालिकाका रहेका छन् ।

दाङको घोराही–१२ हापुरे निवासी २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान गरिरहेको छ । दुर्घटना स्थलको सडक खासै नबिग्रेको र तीव्र गतिका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरूको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया