धनकुटा नगरपालिकाद्वारा १७ वटा सहकारी संस्थाको दर्ता खारेज

 भदौ १६, २०८० शनिबार १४:३५:१९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा– धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो ।

धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनु पर्ने र यसको विवरण नगरपालिकामा बुझाउनु पर्ने प्रावधान छ ।

योे प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ ।

नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक/एक वटा दुग्ध र विद्युत् सहकारी खारेजीमा परेका छन् ।

ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

‘वर्षौँदेखि साधारण सभा नगर्ने, अडिट नगर्ने सहकारीहरूबाट उपभोक्ताहरू ठगिन सक्छन्, कुनै पनि मानिस समस्यामा पर्नु हुँदैन भनेर पटक–पटक ताकेता गर्दा पनि नमानेपछि त्यस्ता सहकारीको दर्ता खारेज गरेका छौं,’ मेयर तामाङले भन्नुभयो, ‘अहिले १७ वटा सहकारी खारेजीमा परेका छन्, अरु सहकारीको विषयमा पनि अनुगमन गर्दैछौँ । अरु पनि खारेज हुन सक्छन् ।’

धनकुटा नगरपालिका–१ को जनकल्याण बचत तथा ऋण सहकारी, जनसहारा उपभोक्ता सहकारी र मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी संस्था खारेज भएका छन् ।

धनकुटा–२ को भीरगाउँ दुग्ध उत्पादक सहकारी, मधुगंगा सुन्तले विद्युत् सहकारी, नवबिहानी कृषि सहकारी, धनकुटा–३ को सुगन्धित चिया उत्पादक सहकारी, धनकुटा–४ को हजुरको उपभोक्ता सहकारी र सदाबहार कृषि सहकारी खारेजीमा परेका छन् ।

त्यस्तै धनकुटा–५ को क्रमिक दैनिक बचत तथा ऋण सहकारी, धनकुटा–६ को अन्नपूर्ण बचत तथा ऋण सहकारी, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, धनकुटा–७ को सहयात्री कृषि सहकारी, धनकुटा–८ को टेकुनाला कृषि सहकारी, आठपहरिया कृषि सहकारी र सान्ताङ कृषि सहकारीको दर्ता खारेज गरिएको छ ।

नियमानुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक–पटक सूचना जारी गरिएको थियो ।

अन्तिम पटक गएको साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको थियो ।

समयसीमा भित्र चार वटा सहकारी सम्पर्कमा आएर साधारण सभा गर्ने प्रतिबद्धता जनाएको र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

ती सहकारीले तिर्नु वा बुझाउनुपर्ने दायित्व भए साविकको सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गरी लिन र अब उप्रान्त ती संस्थाहरूको नामबाट कुनै कारोबार नगर्न/नगराउन पनि नगरपालिकाले सूचित गरेको छ ।

खारेजपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन् । ती सहकारीको पनि अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया