एक महिनामा ६ सय ६६ वैदेशिक रोजगार ठगीका उजुरी, युरोप रोजगारीको प्रलोभनमा ठगी धेरै

 असोज ८, २०८० सोमबार १६:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको साउन महिनामा मात्रै वैदेशिक रोजगार विभागमा ६ सय ६६ वैदेशिक रोजगार ठगीको उजुरी परेको छ ।

वैदेशिक रोजगारीमा जान ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिँदा ६ सय ६६ वटा ठगीमा उजुरी परेको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबैभन्दा धेरै ठगी युरोप रोजगारीको नाममा भएको छ । युरोपका देश पोल्याण्ड, क्रोयसिया, माल्टा, रोमानीयाजस्ता देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगीमा परेका ३ सय ५२ वटा उजुरी विभागमा परेको छ । 

यस्तै २ सय ४४ उजुरी भने एजेण्टहरुबाट ठगी भएका छन् भने म्यानपावर कम्पनी विरुद्ध एक महिनामा ७० वटा उजुरी परेको छ । 

तुलनात्मक रूपमा म्यानपावर कम्पनीबाटभन्दा व्यक्तिगत तवरबाट बढी ठगी भएको पाइएको सूचना अधिकारी उप्रेतीले बताउनुभयो । 

पछिल्लो समय युरोपेली देशमा नेपाली श्रमिकहरूको माग बढ्दो छ । तर युरोपका कतिपय देशमा नेपाली नियोग नहुनु र भएका नियोगहरूबाट पनि मागपत्र प्रमाणीकरणको काम नहुँदा युरोप रोजगारीमा संस्थागत रूपमा म्यानपावर कम्पनीहरूले पठाउन नसकेको अवस्था छ ।

यसको फाइदा उठाइ विभिन्न एजेण्ट तथा कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरूले व्यक्तिगत रूपमा नेपालीहरूलाई युरोप पठाइरहेका छन् । जसको कारण मानव तस्करीसमेत मौलाइरहेको छ ।

गएको आर्थिक वर्ष २०७९/०८० मा विभागमा चार हजार चार सय ६४ वैदेशिक रोजगार ठगीको उजुरी परेको थियो । जसमध्ये विभागले १७ सय ५१ उजुरी फर्स्यौट गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया