पोल्याण्ड पठाइदिने भन्दै चार जनाबाट २७ लाखभन्दा धेरै ठग्ने राप्ती म्यानपावरका सञ्चालक पक्राउ

 असोज ८, २०८० सोमबार १७:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै २७ लाख भन्दा धेरै रकम ठगी गर्ने राप्ती प्यालेसमेन्ट म्यानपावरका सञ्चालक रवीन्द्र अधिकारी पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ फुड प्याकिङको काममा महिनाको एक लाख रुपैयाँ कमाइ हुने भन्दै चार जनाबाट २७ लाख २५ हजार रुपैयाँ ठगी गर्ने उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

म्यानपावरका सञ्चालक अधिकारीले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । तर पटक पटक गरी चारै जनाबाट २७ लाख २५ हजार रुपैयाँ हात परेपछि सम्पर्क विहीन भएका थिए । 

रकम लिएर म्यानपावरका सञ्चालक फरार भएपछि पीडित प्रेम तामाङसहित चार जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिए । पीडित श्रमिकको उजुरीको आधारमा विभागले रवीन्द्रको खोजी गरी उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो ।

चितवनको भरतपुर नगरपालिका ६ का ४२ वर्षीय रवीन्द्रलाई आज सोमबार दिउँसो प्रहरीले काठमाण्डौको वसुन्धराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थप अनुसन्धानका लागि उनलाई विभागको कार्यालय ताहाचल पठाइएको छ ।

यस्तै, यूएई पठाइदिन्छु भन्दै डेढ लाख रुपैयाँ ठगी गर्ने रौतहटका इरफान सिद्धिकीलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले सूर्यबहादुर कार्कीलाई वैदेशिक रोजगारीमा यूएई पठाइदिन्छु भन्दै डेढ लाख रुपैयाँ ठगी गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया