सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो

 असोज १२, २०८० शुक्रबार १५:४२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा योगदान गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको छ ।

कानुन अनुसार श्रमिकको न्युनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकको तलबबाट र २० प्रतिशत रोजगारदाताले थपेर मासिक रूपमा कोषमा रकम जम्मा गर्नु पर्ने भए पनि पछिल्लो समय रोजगारदाताहरूले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको कोषले जनाएको छ । 

कोषमा सूचिकृत रोजगारदाताले श्रमिकको नियमित रूपमा जम्मा गरिदिन पर्ने योगदान रकम जम्मा नगर्ने, कानुन अनुसार रोजगारदाताले थप गर्नु पर्ने रकम थप नगरिदिने, काट्टा गरेको रकम कोषमा जम्मा नगरी आफैँ राख्ने वा अन्य खातामा जम्मा गरिदिने लगायतका गुनासो पछिल्लो समय बढेको छ ।  

यस्तो कार्य श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ वितरित भएको भन्दै कोषले रोजगारदातालाई सचेत समेत गराएको छ । 

कोषमा सूचीकृत हुन बाँकी रहेका सबै सङ्गठित निजी संस्थालाई कोषमा सूचीकृत भई आफ्नो कर्मचारीलाई समेत सूचीकृत गराएर नियमित रूपमा योगदान रकम जम्मा गरिदिन र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत रकम मात्रै कट्टा गरी श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम अनिवार्य रूपमा थपेर जम्मा गरिदिन भन्दै कोषले सूचना जारी गरेको छ ।

काट्टा गरेको पारिश्रमिक १५ दिनभित्र कोषमा जम्मा नगरेमा वा ३१ प्रतिशत रकम नै श्रमिकको पारिश्रमिकबाट काटेको अवस्था भएमा आफ्नो समस्या र गुनासो राख्न सकिने पनि कोषले जनाएको छ ।

९८५११६१९७२ मा मौखिक रूपमा फोन गरेर र [email protected] मा इमेलमार्फत पनि सामाजिक सुरक्षा सम्बन्धी आफ्नो समस्या र गुनासो राख्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया