लमजुङमा चाडपर्व लक्षित बजार अनुगमन

 असोज २०, २०८० शनिबार १९:३८:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– नजिकिँदै गरेको दशैँ तिहार पर्वलाई लक्षित गर्दै लमजुङ जिल्लामा बजार अनुगमन कार्यलाई तीव्र पारिएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्व र पर्यटन तथा उद्योग कार्यालय लमजुङको संयोजनमा अहिले जिल्लाका विभिन्न बजारी क्षेत्रमा बजार अनुगमन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा सरोकारवालासहितको एक टोलीले आज शनिवार सुन्दरबजार नगरपालिकाको बजार क्षेत्र भोटेओडार, सिउँडीबारमा रहेका किराना पसल, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो ।

बजारलाई व्यवस्थित गर्नुका साथै आम उपभोक्ताका हितलाई ध्यान दिइ तीनै तहका सरकारका प्रतिनिधिसहित सरोकारवालाहरुको रोहवरमा बजार अनुगमन गरिएको सुयलले बताउनुभयो । सुन्दरबजार नगरपालिकाको भोटेओडार, सिउँडीबारका विभिन्न ३१ वटा पसलको अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमार थापाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा तुलनात्मक रुपमा सबैभन्दा बढी म्याद गुज्रेका सामान बिक्री–वितरण भएको, पसलमा मूल्यसूची टाँस नगरिएको, कतिपय पसल बिना दर्ता नै सञ्चालनमा रहेको पाइएको उहाँले उल्लेख गर्नुभयो । म्याद गुज्रेका सामान बिक्री वितरण भएका, बिना मापदण्ड सञ्चालनमा रहेका पसल सञ्चालकहरुलाई जरिवाना गरिएको उहाँले बताउनुभयो । जरिवानास्वरुप ३० हजार रुपैयाँ राजश्व संकलन भएको उहाँले बताउनुभयो ।यसअघि जिल्लाको बेसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिकाका विभिन्न बजारी क्षेत्रकोे अनुगमन भइसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया