आजदेखि प्रथम गुल्मी महोत्सव शुरु

 कात्तिक १५, २०८० बुधबार २०:८:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – प्रथम ऐतिहासिक गुल्मी महोत्सव आज बुधवारदेखि शुरु भएको छ । गुल्मी उद्योग सङ्घको आयोजनामा शुरु भएकाे महाेत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँडौँ रेसुङ्गा अभियान’ लाई प्रवर्द्धन गर्न र जिल्लामा लगानी सम्भावनाको खोजीका लागि महोत्सव गर्न लागेकाे गुल्मी उद्योग सङ्घका अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयो ।

महोत्सवको शुभारम्भमा गुल्मीकाे ऐतिहासिक एवम् धार्मिक स्थल तम्घास्थान मन्दिर परिसरबाट विभिन्न समुदायका झाँकी र बाजागाजासहित बजार परिक्रमा गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसारका लागि महोत्सव कोशेढुङ्गा साबित हुने बताउनुभयो । धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको पहिचान गर्दै लुकेर रहेका उद्योग व्यवसायको प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँकाे भनाइ छ ।

महोत्सवमा सांस्कृतिक झाँकीको प्रर्दशन, होमस्टेका परिकारको प्रवर्द्धन, साना तथा मझौला उद्योगहरूको कला र सीप प्रदर्शन गर्नुका साथै पालिकामा उत्पादित मुख्य वस्तु तथा सामग्रीहरू प्रदर्शनमा राखिएको छ । 

महोत्सव आयोजक समितिले गुल्मीमा पहिलो पटक जलविद्युत् मार्फत उज्यालो अभियानको शुरुवात गर्ने माधव मरासिनी, होटेल व्यवसायी हिरामणि सापकोटा, व्यावसायिक रूपमा गाईपालन व्यवसाय भित्र्याउने लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कमलराज श्रेष्ठ र जिल्लामा पहिलो पटक महोत्सवको अवधारणा ल्याउने माओवादी नेता अशोक थापालाई नगद र प्रमाणपत्रद्वारा सम्मान गरेकाे थियो ।

महोत्सवमा तीन सय २० वटा स्टल रहेका छन् । महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्नुका साथै ६० करोड रुपैयाँ बराबरको कारोबार हुने आयाेजककाे अपेक्षा छ । महोत्सवको पहिलो दिन दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया