ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकाे नाै महिनापछि कांग्रेस सांसद भण्डारी गृहजिल्लामा

 मंसिर ८, २०८० शुक्रबार १५:१९:५७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भई लामो समयको उपचारपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गुल्मी क्षेत्र नम्बर १ का सांसद डा. चन्द्रकान्त भण्डारी नाै महिनापछि पहिलाे पटक गृहजिल्ला आइपुग्नुभएकाे छ ।

सांसद भण्डारी आज शुक्रवार नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाजमार्फत रेसुङ्गा विमानस्थल आइपुग्नुभएकाे हाे ।  गएकाे फागुन ३ गते राति काठमाण्डौको आफ्नै निवासमा ग्यास चुहिएर आगलागी हुँदा घाइते हुनुभएका भण्डारीलाई उपचारका लागि भारतकाे मुम्बईमा रहेकाे 'नेशनल बर्न सेन्टर' पुर्‍याइएकाे थियाे । त्यहाँ लामाे समयकाे उपचारपछि भण्डारी स्वदेश फर्किनुभएकाे थियाे । आगलागीमा परेर भण्डारीकी आमा हरिकलाकाे निधन भएकाे थियाे । 

नाै महिनापछि गुल्मी पुग्नुभएका सांसद भण्डारीले रेसुङ्गा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रष्टाचार देश विकासकाे प्रमुख बाधक बताउनुभयाे । भष्ट्राचार देशका लागि ठूलो रोग भएको भन्दै उहाँले भष्ट्राचारलाई न्यूनीकरण गर्न नसकेसम्म नागरिकले आशा गरेअनुसारको विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो ।

गृहजिल्ला आउँदा भण्डारी एकातिर खुशी देखिनु हुन्थ्यो भने अर्कोतिर सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा भावुक बन्नु भएको थियो । बोल्ने क्रममा गहभरि आँसु टिल्पिलाउँदै कांग्रेस नेता भण्डारीले जिल्लाको माया र आफ्नो विकासको सपनासँगै सबै शुभचिन्तकको आशीर्वादका कारण आफू मृत्युको मुखबाट उम्किन सफल बनेको भन्दै सबैलाई धन्यवाद दिनुभयाे ।

भाेलि शनिवार गुल्मीको सदरमुकाम तम्घासमा शुरु हुने नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न भण्डारी गुल्मी आउनुभएको हो । दुर्घटनापछि पहिलो पटक जिल्लामा आउनुभएका भण्डारीको आगमनले जिल्लावासीमा थप खुशी र उत्साह थपिएको नेपाली कांग्रेसका पार्टी सभापति खिलध्वज पन्थीले बताउनुभयो ।

दोस्राे जिल्ला सम्मेलनमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरू शनिवार गुल्मी आउने कार्यक्रम रहेको पन्थीले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया