बर्दियामा हात्ती पूजा, मानव–हात्ती सहअस्तित्व कायम हुने विश्वास

 मंसिर २०, २०८० बुधबार ७:४९:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधिअनुसार हिजो मङ्गलवार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि जङ्गली हात्तीबाट हुने क्षति कम गर्न तथा मानव–हात्ती सहअस्तित्व कायम गर्न भन्दै परम्परागत धार्मिक विधिअनुसार थारु समुदायका गुरुवा (धामीझाँक्री) बाट हात्ती पूजा गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले जानकारी दिनुभयो ।

ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसार पिकनिक मैदानमा हात्ती पूजा गरी हात्तीलाई फलफूल तथा उखु खुवाइएको छ । एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडिएको ठाउँमा हात्ती पूजा गरिएको हाे । थारु समुदायको बसोवास रहेको यस क्षेत्रमा थारु समुदायका गुरुवामार्फत पूजापाठ गरेपछि अशान्ति हट्ने जनविश्वास छ ।

हात्तीसार क्षेत्रमा हात्तीले धेरै नोक्सान गर्न थालेपछि थारु समुदायका गुरुवा बोलाएर हात्ती पूजा गर्न थालिएको हो । विगतका केही वर्षदेखि गणेश भगवानको रूपमा वनदेवी र हात्ती पूजा गर्न थालेपछि हात्तीले सताउन छाडेको स्थानीयवासी बताउँछन् ।

‘परम्परागतरूपमा दुई दशक अघिसम्म दशैँको टीकाका दिन घरपालुवा हात्तीबाट सुँगुरको पाठो कुल्चाउने परम्परा थियो, एक जीवबाट अर्को जीव हत्या गरिनु उपयुक्त नभएकाले सुँगुरको पाठो कुल्चाउने परम्परा अन्त्य गरी शुरुमा हात्ती फुटबल प्रतियोगिता शुरु गर्‍याैँ, फेरि हात्तीलाई दुःख नदिने भन्ने उदेश्यले हात्तीलाई फुटबल खेलाउन पनि छाड्याैँ र परम्परागत पूजा मात्रै गर्न थाल्यौँ’, आयोजक चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले भन्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वभर चिनाउने एसियाकै ठूलाे राजागज नामकाे हात्ती निकुञ्ज क्षेत्रबाट हराएपछि उसैकाे सम्झनामा एउटै काठबाट निर्माण गरिएको खमारी (हात्ती बाँध्ने स्तम्भ) गाडेकाे र झन्डै सात वर्षदेखि हात्ती पूजा गर्ने परम्परा थालनी गरेकाे अध्यक्ष आचार्यले बताउनुभयो ।

हात्ती पूजा शुरु भएपछि मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न सहयाेग पुगेकाे र यस क्षेत्रको स्थानीय संस्कृति एवम् पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा लिएकाे बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जालले आयोजना गरेको हात्ती पूजा कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर विनाकुमारी भट्टराई, निकुञ्जका प्रमुख संरक्षण अधिकृत, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका गणपति हिमालय थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङफे, प्रहरी, जनप्रतिनिधि, थारु समुदायका अगुवा, स्थानीयवासीसहित स्वदेशी र विदेशी पर्यटक सहभागी भएका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया