मानव सेवा नै सबैभन्दा ठूलो सेवा : प्रधानमन्त्री प्रचण्ड

 मंसिर ३०, २०८० शनिबार १५:११:१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा निर्माण भएको मानव सेवा आश्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको हो ।

अब मन्दिरमा भन्दा पनि मानव सेवा आश्रमको मन्दिरमा भेटी चढाउनका लागि पनि उहाँले आग्रह गर्नुभयो । मानवता सम्वन्धी सन्देश रामजी अधिकारीबाट शुरु भएको उहाँले बताउनुभयो । मानव सेवा आश्रमका लागि पालिका, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र सङ्घीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

संविधानमै मानवताको कुरा लेखिएकोले यसको कार्यान्वयन गर्नका लागि सरकार लागिपरेको उहाँले बताउनुभयो । सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरेकोमा आश्रम परिवार प्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । अब यो देशमा उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने पनि उहाँले बताउनुभयो ।

सङ्घीय सरकारले सात प्रदेशका मानव सेवा आश्रमका लागि सात वटा गाडी उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । संविधान सभा पछि जनता नै सार्वभौम भएकाले मानवताको क्षेत्रमा काम गरिनुपर्ने उहाँले बताउनुभयो ।

कुल १४ करोड रुपैयाँको लागतमा निर्माण भएको मानव सेवा आश्रमको केन्द्रीय भवनको आज उद्घाटन् गरिएको हो । १४ करोड रुपैयाँको लागतमा बनेको भवनमा व्यक्तिगततर्फ नौ करोड तथा संस्थागतरुपमा पाँच करोड रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मानव सेवा आश्रमका लागि थप सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गरिने उहाँले बताउनुभयो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया