बिहे खर्च कटाएर गाउँमै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर

 पुस १४, २०८० शनिबार १९:२७:१६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी जिल्लाका नव विवाहित एक दम्पतीले विवाहमा गर्ने फजुल खर्च कटाएर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

हाम्रो समाजमा पछिल्लो समयमा विवाह र भोज भतेरमा लाखौँ रकम खर्च गर्ने प्रचलन बढ्दै गए पनि यस विपरीत गुल्मीको रेसुङ्गा नगरपालिका ३ भाडगाउँका सञ्चारकर्मी समेत रहनु भएका नव विवाहित मोहन बस्नेतको जोडीले विवाहमा खर्च गर्ने रकम स्वास्थ्य शिविरमा खर्चिनु भएको हो ।

उहाँको जोडीले भोजमा गर्ने फजुल खर्च रकम कटाएर गाउँका गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गर्नु भएको हो । उहाँले आफ्नो जन्मभूमिमा केही सेवा गर्नुपर्छ भनेर विवाहमा पनि कुनै प्रकारको तडक भडक नगरि त्यसलाई सामाजिक कार्यमा लगाउने उद्देश्यले गाउँमा निःशुल्क स्वास्थ्य शिविर राखेको बताउनु भयो ।

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाति तथा मुटु रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञ डाक्टरहरुले शिविरमा आएकाहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविर आयोजक बस्नेतको नव विवाहित जोडीले विशेषज्ञ डाक्टरहरुलाई बुटवल तथा अन्य स्थानबाट गुल्मीको आफ्नै जन्मथलोमा लगेर स्थानीय बालबालिका तथा वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा ईसीजी, रक्त परीक्षण र भिडियो एक्सरे गरिनुको साथै बिरामीहरुका लागि निःशुल्क रुपमा औषधि समेत बितरण गरिएको थियो ।

बिहेको भोजमा हुने फजुल खर्चलाई बचाएर समाजमा गरिने यस्ता कामबाट गरिब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताउनु भयो । उहाँले यस्ता प्रकारका सामाजिक कार्यले आउँदा दिनमा अरुलाई पनि थप प्रेरणा प्रदान गर्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह गर्ने बताउनु भयो ।

आफ्नै घरदैलोमा आएर बिशेषज्ञ सहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीय पम्फा विश्वकर्माले बताउनु भयो । उहाँले यस्ता प्रकारका पुण्य कामबाट आफूजस्ता धेरै मानिसलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनु भन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताउनु भयो।

आज भएको शिविरमा तीन सय भन्दा बढी बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया