बागलुङको ताराखोला गाउँपालिकामा युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

 पुस १८, २०८० बुधबार १०:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

गण्डकी – युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘शहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । हिजो मङ्गलवार भएको कार्यक्रममा श्रम रोजगार बैङ्क शुभारम्भ गरिएको हो ।कार्यक्रममा सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७  सदस्यलाई शपथ ग्रहण गराउनुभएको हाे । 

गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको अध्यक्ष विकले बताउनुभयो। रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने छ । पहिलो चरणमा वडा तहबाट आवेदन सङ्कलन गरेर ६७ जनालाई सूचीकृत  गरिएको छ । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैङ्कमा सूचीकृत गरिने जनाइएको छ।

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुई हजार दुई सय घरधुरीबाट एक/एकजनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा एक सय १० रुपैयाँ, प्रदेश, सङ्घीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा एक सय १५ रुपैयाँका दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ ।

मासिक १७ हजार तीन सय रुपैयाँ ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला १० हजार आठ सय २० रुपैयाँभन्दा कम दिएमा सामाजिक सुुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यले कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक लगाउनुपर्ने, गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता पनि बनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया