गुल्मीमा सुन्तलाको क्षेत्रफल बढे पनि उत्पादन घट्यो

 पुस २८, २०८० शनिबार ११:३७:४३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा सुन्तलाको क्षेत्रफल बढे पनि उत्पादन पोहोरभन्दा घटेको छ ।

गएको वर्ष ६ हजार ८ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यसवर्ष ६ हजार ५ सय ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । गएको वर्षको भन्दा २ सय ६६ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो । गएको वर्ष ५ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । तर यसपालि सुन्तलाको क्षेत्रफल बढेर ६ सय २३ हेक्टर पुगेको छ ।

क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा फल पातलो लाग्नु, दाना साना हुनु र उत्पादकत्त्व कम हुनु मुख्य कारण रहेको र अरु विषय थप अध्ययनपछि मात्रै जानकारी हुने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । अघिल्लो वर्ष २९ करोड रुपैयाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष झण्डै २४ करोड रुपैयाँको मात्र सुन्तला उत्पादन भएको छ । उत्पादन भएकोमध्ये यो वर्ष १२ करोड ८४ लाख रुपैयाँको सुन्तला जिल्ला बाहिर निर्यात गरिएको छ । अघिल्लो वर्ष जिल्लाबाहिर १३ करोड २१ लाखको सुन्तला निर्यात भएको थियो ।

गुल्मीमा सुन्तला खेती गर्ने परम्परागत प्रविधि, रोगकिराका कारण उत्पादन कम भएको हुनसक्ने धुर्कोट गाउँपालिकाका–२ सुफलका किसान शिवलाल खनालले बताउनुभयो । उहाँले सुन्तला बगैँचामा मल र सूक्ष्म तत्वको अभावले पात पहेँलो हुने, छिर्केमिर्के देखिने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने र सानो हुने, रसिलो फल नलाग्ने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएको बताउनुभयो । गुल्मीमा रहेका १२ वटै पालिकामा सुन्तला खेती हुँदै आएको छ ।

१२ पालिकाका ३७ वटा वडामा 'सुन्तलाजात फलफूल जोन' लागू गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारामा सुन्तला खेतीका लागि चक्लाबन्दी शुरु गरिएको छ ।

धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, चन्द्रकोटको रेमी, मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन्  ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तलाको उत्पादकत्त्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा सुधारका साथै मलखाद, सिँचाइ र काँटछाँट गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया