पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठलाई

 फागुन ५, २०८० शनिबार १८:१५:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । १८ औँ संस्करणको सफल पोखरा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थानमा केन्याली धावक विजयी बने ।

निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटरको दुरी केन्याका जुलियास मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै पहिलो भए । यस्तै केन्याकै स्कास किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्ड र इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरे । नेपालका किरणसिंह बोगटी चौथो स्थानमा रहे । उनले दुई घण्टा २४ मिनेट ०२ सेकेन्डमा दुरी पूरा गरे ।

यसैगरी २१ किलोमिटरको महिला हाफ म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले १ घण्टा १८ मिनेट ३९ सेकेन्डमा दुरी पूरा गरिन् । यस्तै केन्याकी अबिचल जिरोपले एक घण्टा १९ मिनेट दुई सेकेन्ड, नेपालकै राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्ड र फूलमती रानाले एक घण्टा २१ मिनेट सात सेकेन्डमा दुरी पूरा गरे ।

म्याराथनको विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख र सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे । यस्तै गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरे । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना भएको म्याराथनमा सर्वाधिक १३ देशका एक सय आठ धावक सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया