प्राधिकरणले ६ महिनामा १५ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमायो : १३ अर्बको बिजुली निर्यात, २ अर्बको आयात

 फागुन १६, २०८० बुधबार १३:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो छ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । बिजुली खरिद, प्रशासनिक, आयोजनाहरूलगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः बिजुली बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड छ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गएकाे आर्थिक वर्ष २०७९/८० को यही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गएकाे आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको यही अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गएकाे आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूदेखि निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली चुहावट नियन्त्रण, आन्तरिकरूपमा तथा भारतर्फको बिजुली निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट बिजुली उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरूमा हरेक वर्ष अर्बाैँ रुपैयाँ लगानी गरिरहेका छौँ’,कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘बिजुलीमा आत्मनिर्भर बन्न, आन्तरिकरूपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूमा आउँदाे वर्षहरूमा १०/१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’

प्राधिकरणले चालु आवको छ महिनामा बिजुली बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको बिजुली खरिद गरेको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको बिजुली आयात भएकाे हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ नाै अर्ब तीन करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

१३ अर्बको बिजुली निर्यात, दुई अर्बको आयात

नेपाल विद्युत् प्राधिकरणको चालु आवको पहिलो छ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । यही अवधिमा एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको बिजुली आयात भएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ ।

प्रााधिकरणले 'आईएक्स' को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि– 'एनभीभीएन' लाई बिक्री गरिरहेको छ । एनभीभीएनले त्याे बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा प्राधिकरणले एक अर्ब ४७ करोड ६४ लाख युनिट बिजुली निर्यात गरेकाे छ । सुक्खायाम शुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट बिजुली आयात भइरहेको छ ।

समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट बिजुली आयात भएकाे छ । वर्षायाम शुरु भएसँग फेरि बिजुली निर्यात सुरु हुने छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया