नेपाल–भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी शुरु, नेपालीले भारतमा भुक्तानी गर्न भने केही समय कुर्नुपर्ने

 फागुन १६, २०८० बुधबार १५:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– नेपाल र भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी सेवा आजदेखि शुरु भएको छ । नेपालको भुक्तानी सञ्चालक फोन–पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीअनुसार आजदेखि अन्तरदेशीय भुक्तानी सेवा शुरु भएको हो । तर अहिलेलाई भारतीय पर्यटकले नेपालमा फोन–पेको क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् ।

नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न भने केही समय कुर्नुपर्ने भएको छ । फोन–पेलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएका कारण नेपालीले भारतमा अनलाइन भुक्तानी गर्न पाएका छैनन् । स्वीकृति पाउनासाथ नेपालका फोन–पेका ग्राहकले भारतमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

नेपालीले भारतमा भिम यूपीआई र भारतीयले नेपालमा फोन–पेको भुक्तानी प्लेटफर्म प्रयोग गरेर क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोन–पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स सक्रिय गर्नुपर्छ । यसपछि भारतीयले नेपाल आउँदा फोन–पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।

अन्तरदेशीय भुक्तानीका लागि अहिलेसम्म ई–सेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैँले निर्धारण गर्नेछन् । गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अन्तरदेशीय भुक्तानीबारे समझदारी भएको थियो ।

प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच एमओयू आदान–प्रदान भएको थियो ।

त्यसपछि दुवै पक्षले गृहकार्य गर्दै आज भुक्तानी शुरु भएको हो । यसले नेपाल र भारतका नागरिकलाई भुक्तानीमा निकै सहज हुनेछ । यस्तै नगद बोक्ने समस्याको अन्त्य हुनेछ भने एकअर्का देशमा समस्या पर्दा सजिलै पैसा पठाउन सकिनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया