सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफल तीव्र, केन्द्रमा गृह मन्त्रालय

 फागुन २३, २०८० बुधबार ७:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफललाई तीव्र पार्नुभएको छ । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा जुट्नुभएको छ ।मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाँट तथा अरु दलहरुलाई सत्ता गठबन्धनमा सहभागी गराउने प्रयास भैरहेको छ । प्रचण्ड र ओलीले हिजो नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकसाथ भेट गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।

त्यसअघि अस्ति प्रचण्डले नेता नेपालसँग भेट गर्नुभएको थियो । हिजोको छलफलपछि एमाले अध्यक्ष ओलीले नेता नेपालसँगको छलफल सकारात्मक नै भएको प्रतिक्रिया दिनुभएको छ । एकीकृत समाजवादीका  महासचिव घनश्याम भुसालका अनुसार अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरी सरकारमा जानेबारेमा निर्णय लिने बताउनुभएको छ ।

सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या यकिन नहुँदा तथा शक्तिशाली मन्त्रालयहरूमा ठूला दलको दाबीले मन्त्रालय बाँडफाँटमा कठिनाइ देखिन्छ । सत्ता गठबन्धनलाई बलियो बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपाबाहेक एकीकृत समाजवादी र अन्य साना पार्टीलाई समेत सामेल गर्ने गरी मन्त्रिपरिषद् विस्तारलाई केही दिन थाती राखेर भए पनि छलफल गर्ने शीर्ष नेताको मनशाय छ ।

गठबन्धनमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछि भागबन्डाको विषय टुङगोमा पुग्ने नेताहरुले बताएका छन् । उपप्रधान तथा गृहमन्त्रीसहित सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने तयारीमा छ  । गृहमा एमाले र माओवादीको पनि दाबी यथावत नै छ । अर्थ र परराष्ट्र छोड्नुपर्ने हुँदा गठबन्धनको ठूलो दलका रुपमा गृहमा एमालेको दाबी छ । माओवादीले अर्थ मन्त्रालय लिन सक्ने अवस्थामा एमालेको दाबी गृहमा हुनेछ ।

नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् । तीनै जनाको मन्त्रालय तोकिएको छैन । नवगठित सत्ता गठबन्धनका चार दलबीच आठबुँदे सहमतिमा सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया