यस्ताे बन्याे १८ सदस्यीय मन्त्रिपरिषद्

 फागुन २३, २०८० बुधबार १८:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएका छन् । नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ वटा मन्त्रालय पाएका छन् ।

नेकपा एमालेबाट रघुवीर महासेठ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, राजेन्द्रकुमार राई– खानेपानीमन्त्री, पदम गिरी– कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारीमन्त्री, भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती– रक्षामन्त्री र ज्वालाकुमारी साह– कृषिमन्त्री बन्नुभएको छ ।

पदम गिरी र बलराम अधिकारीबाहेकका मन्त्री गएको वर्षको पुसमा पनि सरकारमा सहभागी थिए । नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारको नेतृत्व दिने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गर्ने अवसर मिलेको हो ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ– उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन– अर्थमन्त्री, शक्तिबहादुर बस्नेत– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ ।

नारायणकाजी श्रेष्ठ गृहबाट परराष्ट्र पुग्नुभएको हो भने शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा यथावत् हुनुहन्छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने– उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डीपी)– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

अहिले राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको शपथ ग्रहण समारोह चलिरहेको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरूको नाम दिइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नजाने घोषणा गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति कांग्रेससँग सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया