पदबहालीपछि कुन मन्त्रीका कस्ता वाचा ?

 फागुन २४, २०८० बिहिबार ७:४२:२२ | रासस
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त मन्त्रीहरूले हिजाे पद तथा गाेपनीयताकाे शपथ लिँदै पदबहाली गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पाैडेलसँग शपथ लिएसँगै मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका गएर पदबहाली गरेका हुन् ।

नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिनुभयो ।

नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । साथै उहाँले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउनसमेत ध्यान केन्द्रित हुने बताउनुभयो ।

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । उहाँले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न पनि निर्देशन दिनुभयो ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताउनुभयो । मन्त्री पुनले आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उहाँले बताउनुभयो । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उहाँकाे भनाइ छ ।

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सबै कर्मचारीसँग मिलेर देश र नागरिककाे हितका लागि काम गर्ने बताउनुभयो । पदबहालीलगत्तै उहाँले ‘नयाँ राष्ट्रिय ऊर्जा तथा विद्युत् विकास नीति’ तर्जुमा गर्न एक कार्यदल गठन गर्नेसम्बन्धी प्रस्ताव र जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको गाइडलाइन तयार पार्ने निर्देशिकामा हस्ताक्षर गर्नुभएको छ ।

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुर्खेतको गुरुवाकोट नगरपालिकामा सामुदायिक विद्यालयका लागि पालिकामार्फत कार्यान्वयन हुने आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएकाे छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (ईयू) ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री तामाङले ईयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताउनुभयो । नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्धरूपमा काम गर्ने उहाँकाे भनाइ छ । नवनियुक्त पर्यटनमन्त्री तामाङले पदबहाली लगत्तै हवाई नीति २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गर्नुभयो ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रम अपरिहार्य भएकाले मेहनत गर्न कर्मचारी तथा मातहत निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । उहाँले यसअघि मन्त्रालयले थालनी गरेका कार्यक्रमलाई सम्पन्न गर्न थप मेहनत गर्न निर्देशन दिनुभयो ।

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ । मन्त्री गिरीले देशको विकास निर्माणमा सहयोग पुग्ने गरी कानुन निर्माणमा ध्यान दिने बताउनुभयो ।

नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । उहाँले किसानको समस्या समाधान गर्न नसके कुर्सीमा बस्नुको औचित्य नहुने बताउनुभयो । मन्त्री साहले दूध किसानको बाँकी रकम समयमै भुक्तानी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितकम प्रयास गर्ने बताउनुभएको छ । उहाँले आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रत्यक्ष लाभ हुनेगरी नागरिकका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमनागरिकले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाण्डाै–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्री उप्रेतीले नेपाली नागरिककाे आशा र अपेक्षाको विषय रहेको याे आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उहाँले बताउनुभयो ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देशका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाई विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभयो । नेपाली युवालाई स्वदेशमै सहजरूपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न उहाँले निर्देशन दिनुभयो ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया