कांग्रेससँगको गठबन्धन किन तोडियो भन्ने बारेमा प्रधानमन्त्री प्रचण्डको जवाफ

 फागुन २४, २०८० बिहिबार १४:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पार्टी र आफूहरुकाबीचमा वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताउनुभएको हो ।

उहाँले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पार्नुभयो । उहाँले कांग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभए पनि व्यक्तिगत भन्दा पनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताउनु भयो । 

उहाँले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरीत लाग्दा पनि कारबाही नभएको बताउनु भयो । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको बताउनु भयो ।

त्यस्तै उहाँले कांग्रेस महासमिति बैठकले गठबन्धनको विरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गर्नुभयो । त्यसैगरी कांग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठीक भएको आशय उल्लेख गरिनु पनि सम्बन्ध टुट्नुको कारण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा म कुनै समस्या वा अप्ठ्याराेमा थिइन् । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच व्यक्तिगत अविश्वास केही पनि थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन । पछिल्लो ११ महिना लामो साथ र सहकार्यप्रति म विशेषत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरुप्रति आभारी छु । अहिले पनि हाम्रो निजी सम्बन्धमा मेरो तर्फबाट कम्तीमा उत्तिकै सद्भाव छ । तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणामहरु निर्णायक हुन पुग्दारहेछन् र अघिल्ला गठबन्धनमा त्यही भयो । 

उहाँले अगाडि भन्नुभयो, ‘एउटा परिस्थिति फेरिएर फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले माओवादीकाविरुद्ध एक किसिमको विरुद्ध नै गर्‍यो । गठबन्धनको नैतिकताको कसीमा त्यो दण्डित हुनुपर्थ्याे तर त्यसो हुन सकेन बरु भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यही पक्षले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्‍यो । यता का‌ंग्रेस महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरी गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने कुरा बिर्सिएर चर्चा, परिचर्चा, छलफल र निष्कर्ष निकालियो गठबन्धनको विरुद्ध । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारमाथि अनावश्यक र बेमौसमको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न सकिएन । गणतन्त्रका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्म निरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमितिको बैठकमा स्टल नै राखेर जसरी धर्मको नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले काँग्रेसको संविधानप्रतिको प्रतिबद्धता माथि पनि एक हदसम्म प्रश्न उठाउने ठाउँ बन्न गयो ।’

प्रधानमन्त्री दाहालले व्यक्तिका रुपमा कांग्रेसले आफूलाई माया गरेको भए पनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया