प्रधानमन्त्रीले राजनीतिक बेइमानी गर्नुभयो : कांग्रेस

 फागुन २४, २०८० बिहिबार १४:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको हो । 

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारको काम प्रभावकारी भएन, सङ्क्रमणकालीन न्यायले टुङ्गो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्क्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि तपाईँले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली कांग्रेसप्रति न्याय गर्नुभयो ? विश्वास, इमान गर्नुभयो ? र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यसका बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण बेइमानी शब्दप्रति तपाईँहरुको ध्यान गम्भीर भएको छ, तर इमानको कुरा त कांग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो ।’

प्रमुख सचेतक लेखकले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उहाँले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्ता गठबन्धन फेरिने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिबद्धताहरुमाथि कुठाराघात गरेको आरोप लगाउनु भयो ।

उहाँले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया