हाम्रो सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्छ : सांसद पौडेल

 फागुन २४, २०८० बिहिबार १५:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताउनुभएको हो।

उहाँले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पार्नुभयो । उहाँले जनता र राष्ट्रका समस्याहरुलाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको बताउनु भयो ।

उहाँले विगतका अनुभवहरुबाट शिक्षा लिएर सहयात्रा आरम्भ भएको भन्दै कुनै दुर्घटना नहुने बताउनु भयो । उहाँले गठबन्धनले सहयात्राको औचित्य स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन । इतिहास स्प्रिङजस्तो घुम्छ । लाग्दो हो यहाँहरुलाई कि हिजो जे भयो अब केही समयपछि हामी त्यस्तै गर्छौं भनेर । त्यो आशा नगरे हुन्छ । म भन्न चाहान्छु कि, यो सहयात्रा, अहिले शुरु भएको नयाँ सहयात्रा यसले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ । यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन ।

उहाँले अगाडि भन्नुभयो, ‘याे कुनै अवसरको निम्ति गरिएको सहयात्रा होइन । जनताका, राष्ट्रका समस्याहरुलाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यद्वारा आरम्भ भएको सहयात्रा हो । र यो फेरि विगतका अनुभवहरुबाट यथेष्ट शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो । यो कुनै दुर्घटनामा पर्छ कि भनेर त्यस खालको आशङ्का नगरे हुन्छ । दुर्घटनामा परोस् भनेर अपेक्षा नगरे हुन्छ । मलाई विश्वास छ यो सहयात्राले बाँकी कार्यकाल पूरा गर्नेछ । जनता र राष्ट्रका पक्षमा केही नयाँ माइलस्टोन गाडेर भिजिबल प्रोग्रेसका साथमा यो सहयात्राको औचित्य स्थापित हुनेछ ।’

सांसद पौडेलले गठबन्धन परिवर्तन हुनुलाई स्वभाविक संसदीय अभ्यासको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले यो प्रक्रिया स्वभाविक संसदीय अभ्यास र परम्परा रहेको बताउनुभयो । उहाँले संवैधानिक प्रबन्ध अनुरुप नै कदम चालिएको भन्दै त्यसै अनुरुप बुझ्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया