गाजामा पठाउने सहायतालाई 'बार्गेनिङ चिप' का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनकाे चेतावनी

 फागुन २५, २०८० शुक्रबार १५:११:१५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको विषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न इजरायललाई चेतावनी दिनुभएको छ । उहाँले गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ ।

अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनले पाँच महिना लामो युद्धका बारेमा अहिलेसम्मकै सबैभन्दा कडा टिप्पणी गर्दै अमेरिकी सेनालाई गाजामा ‘आपत्कालीन सहायता’ को नेतृत्व गर्न पनि आदेश दिनुभएको छ ।

हमासका वार्ताकारहरूले कतारमा नेतृत्वसँग परामर्श गर्न इजिप्टमा मध्यस्थकर्ताहरूसँग भएको वार्ता छोडेपछि रमजान शुरु हुनुअघि नयाँ युद्धविरामको आशा कम हुँदै गएको समयमा उहाँको यो भनाइ आएको हो । ‘मानवीय सहायता गौण वा मोलमोलाइको विषय हुन सक्दैन भन्ने कुरा इजरायलको नेतृत्वलाई बताउन चाहन्छु । निर्दाेष जीवनको रक्षा र संरक्षण प्राथमिकता हुनुपर्दछ’, बाइडेनले भन्नुभएको छ ।

खाद्यान्न, पानी, औषधि र अस्थायी आश्रयस्थल बोकेका ठूला जहाजलाई गाजा प्रवेशमा सहज हुनसक्ने राष्ट्रपति बाइडेनले बताउनुभएको छ । गाजामा बढ्दो मानवीय सङ्कटका बाबजुद इजरायललाई दिएको निरन्तर समर्थनका कारण राजनीतिक दबाबको सामना गरिरहेका अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकी कर्मचारीहरू तटीय क्षेत्रमा रहने, सहयोगीहरूले बन्दरगाहबाट तटवर्ती अपरेसनहरू प्रबन्ध गर्ने बताउनुभयो ।

इजरायलको सबैभन्दा बलियो सहयोगी अमेरिकाले हिजो जोर्डन, बेल्जियम, इजिप्ट, फ्रान्स र नेदरल्यान्ड्सका विमानसहित गाजामा एक हप्ताभन्दा कम समयमा तेस्रो पटक सहायताको अर्काे हवाई आक्रमण गरेको छ । गाजामा सहायताका लागि सडक पहुँच अवरुद्ध भएपछि प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय सहायता संयोजक सिग्रिड कागले हवाई मार्गको स्वागत गर्दै स्थलमार्ग ‘राम्रो समाधान’ रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया