भारत र युरोपेली स्वतन्त्र व्यापार सङ्घबीच एक सय अर्ब डलरको सम्झौतामा हस्ताक्षर

 फागुन २७, २०८० आइतबार १८:२४:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत र चार सदस्यीय युरोपेली स्वतन्त्र व्यापार सङ्घ (ईएफटीए) बीच लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतका व्यापारमन्त्री पियुष गोयलले सम्झौताअन्तर्गत नर्वे, स्विट्जरल्यान्ड, आइल्यान्ड र लिक्टन्स्टाइनसहित गैरयुरोपेली सङ्घ देशबाट बनेको ईएफटीएले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने बताउनुभएको एएफपीले जनाएको छ ।

१६ वर्ष लामो वार्तापछि यो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि झन्डै एक लाख रोजगारी सिर्जना हुने खबरमा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि साझा प्रतिबद्धताको प्रतीक भएको’ बताउनुभएको सम्झौतापछि निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

ईएफटीएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा ईएफटीए वस्तुको हिसाबले विश्वको १० औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो ।

पछिल्ला वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) सँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया