मजदुरबाट होटल मालिकका नेता बन्न सफल भट्ट

 फागुन २८, २०८० सोमबार ८:३४:९ | रासस
unn.prixa.net

काठमाण्डौ – कुनै समय होटलमा मजदुरका रुपमा काम गर्न छिरेका एक युवा होटलको मालिक हुँदै अहिले होटल व्यवसायीको नेता बन्नुभएको छ । विसं २०५२ मा नारायणगढको एक रेस्टुरेन्टमा मजदुरका रुपमा प्रवेश गरेका लोकनाथ भट्ट अहिले दुई रेस्टुरेन्ट र एउटा होटलका मालिक बन्नुभएको हो । यति मात्रै होइन उहाँ होटल व्यवसायी सङ्घ चितवनको अध्यक्ष पनि बन्नुभएको छ ।

गोरखाको घ्याम्पेसालमा विसं २०३७ मा जन्मिनुभएका भट्टको परिवार विसं २०४२ मा नवलपरासीको प्रगतिनगरमा बसाइँ सरेर आएको हो । डाक्टर बन्ने सङ्कल्पका साथ अध्ययनमा राम्रो सफलता हासिल गर्दै गरेका उहाँलाई अध्ययनमा अघि बढ्ने बाटो भने सहज भएन ।

मध्यम परिवारका उहाँकी आमा बिरामी भएर ठूलो धनराशि खर्च भएपछि परिवारमा आर्थिक समस्या थपिँदै गयो । उहाँ अध्ययनलाई अघि बढाउन सक्ने अवस्था नदेखेपछि माध्यमिक तहको पढाइ छाडेर रोजगारीका लागि नारायणगढ बजार छिर्नुभयो । नारायणगढमा रहेको भेटघाट रेस्टुरेन्टमा उहाँका मामा सीताराम पन्थ काम गर्नुहुन्थ्यो । मामाको सहयोगले त्यही रेस्टुरेन्टमा उहाँले काम गर्न थाल्नुभयो।

शुरुका दिनमा महिनाको पाँच सय रुपैयाँ तलबमा जागिर शुरु गर्नुभएका भट्टले १० वर्षसम्म त्यही रेस्टुरेन्टमा काम गर्नुभयो । रेस्टुरेन्टमा टेबुलबाट भाँडा उठाउनेबाट शुरु भएको उहाँको काम रेस्टुरेन्टका सबै खालको काम गर्ने अवसरमा परिणत भयो । उहाँले भन्नुभयो, ‘जब मैले रेस्टुरेन्ट छाड्दै गर्दा सबै काम गर्नसक्ने भएको थिएँ ।’ उहाँका अनुसार रेस्टुरेन्ट छाड्ने बेलामा उहाँको तलब आठ हजार रुपैयाँ पुगेको थियो । त्यसो त त्यसै अवधिमा तलबभन्दा बढी उहाँले पुरस्कार (टिप्स) स्वरुप पैसा पाउनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, ‘१० वटासम्म टेबल मैले एक्लै भ्याउँथे, कम्तीमा सात टेबलकाले टिप्स दिन्थे ।’ टिप्सको पैसा जम्मा गरेर भरतपुरको भट्टपुरमा उहाँले घडेरी किन्नुभयो । विवाहपछि होटल छोड्दै गर्दा टिप्सले किनेको जग्गा बेचेको पैसाले उहाँले विसं २०६२ मा आफ्नै रेस्टुरेन्ट खोल्नुभयो । उहाँलाई रेस्टुरेन्ट खोल्न त्यति पैसाले पुगेन । नपुग पैसा चर्को ब्याजमा लिएर उहाँले दैनिक तिर्नुभयो । उहाँले भन्नुभयो, ‘मासु, मदिरा उधारो किनेर बेच्दै तिर्दै गरेँ, अलिअलि बेचेको पैसाले ऋण तिर्दै गएँ ।’

भट्टले तीन लाख २५ हजार रुपैयाँमा होटल किन्नुभएको थियो । दुई जना कर्मचारी राखेर श्रीमान् श्रीमती मिलेर खट्नुभयो । दुर्भाग्य उहाँले होटल सञ्चालन गरेको १७ दिनमा १९ दिने आन्दोलनले छोयो । उहाँले मासिक भाडा १३ हजार तिर्नुपर्थ्याे । अन्ततः बन्द खुलेसँगै फेरि राम्रो व्यापार हुन थाल्यो।नारायणगढमा रहेको उहाँको जमघट रेस्टुरेन्ट दिनानुदिन राम्रै बन्दै गयो । शुरुका दिनमा होटल बाहिर बसेर ग्राहक बोलाउने भट्टको अहिले भरतपुरमा अर्को रेस्टुरेन्ट र होटल सञ्चालनमा छन्।

भरतपुरमा दुई कठ्ठा तीन धुर जग्गा किनेर उहाँले आफ्नै होटल र रेस्टुरेन्ट शुरु गर्नुभएको हो । अहिलेसम्म आइपुग्दै गर्दा नारायणगढको रेस्टुरेन्टमा मासिक एक लाख हाराहारी भाडा तिर्ने भट्टको भरतपुरमा होटल र रेस्टुरेन्टको बैंकको मासिक ब्याज मात्र सात लाख तिर्नुपर्छ । दुवैतिर गरेर २८ जनाले रोजगारी पाएका छन् । त्यसो त आठ जनालाई उहाँले पाँच प्रतिशतका दरले लगानीविना सेयर पनि दिनुभएको छ ।

भर्खरै मात्र उहाँ होटल व्यवसायी सङ्घ चितवनको अध्यक्ष हुनुभयो । एक हजार दुई सय ३१ सदस्य रहेको संस्थाको नेतृत्व गर्दै गर्दा आफ्नो विगतको सङ्घर्षलाई उहाँ सम्झनुहुन्छ । पहिले काम गर्दै गरेको रेस्टुरेन्ट छाडेर बेलायत जाने साेच बनाउनु भएका भट्ट नेपालमै रोकिएर आफ्नो व्यवसाय गरेकामा निकै खुसी हुनुहुन्छ । 

सँगै पढेका साथी उपसचिव, डाक्टर लगायतका पेशामा छन् । उहाँले भन्नुभयो, ‘मलाई विदेश नगएकामा पछुतो लागेको छैन, आफू खुसी हुन आफूभन्दा तल भएकालाई हेर्नुपर्दो रहेछ, काम गर्न आफूभन्दा माथि गएकालाई हेर्नु पर्दो रहेछ ।’ नेपालमै लगनशील भएर काम गर्ने हो भने विदेश जानु नपर्ने उहाँको अनुभव छ ।

एक छोरा र एक छोरी अहिले भरतपुरका राम्रा विद्यालयमा पढाउँदै गर्नुभएका भट्टले छोरालाई होटल म्यानेजमेन्ट पढाउने सोच बनाउनुभएको छ । त्यसका लागि एक ठूलो होटलमा उहाँको लगानी छ । कक्षा १२ पढ्दै गरेकी छोरीलाई डाक्टर बनाएर काम गर्न एक निजी अस्पतालमा उहाँले सेयर लगानी गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया