भारतमा लोकसभा चुनावको मिति सार्वजनिक : मतदान सात चरणमा हुने

 चैत ३, २०८० शनिबार १८:२०:४१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

भारतमा लोकसभा चुनावको मिति सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगले सात चरणमा सम्पन्न हुनेगरी मिति सार्वजनिक गरेको बीबीसी हिन्दीले जनाएको छ । निर्वाचन प्रक्रिया २० मार्चदेखि सुरु हुनेछ र जुन ४ तारिखमा मगणना हुनेछ ।

पहिलो चरणको मतदान अप्रिल १९ तारिखमा शुरु हुनेछ । दोस्रो चरणमा अप्रिल २६ तारिखमा, तेस्रो चरणको मतदान मे ७ तारिखमा, चौथो चरणको मतदान मे १३ तारिखमा र पाँचौ चरणको मतदान मे २० तारिखमा हुनेछ । यस्तै, मे २५ तारिखमा छैठौँ चरणको र जुन महिनाको पहिलो दिनमा सातौँ चरणको मतदान हुनेछ । जुन ४ तारिखमा परिणाम घोषणा हुनेछ ।

यसैबीच भारतीय निर्वाचन आयोगले चुनावमा चारवटा मूख्य चुनौती रहेको बताएको छ । मुख्य निर्वाचन आयुक्त राजीव कुमारले चुनावमा चारवटा एमको चुनौती रहेको बताउनुभएको हो । मसल अर्थात शक्ति, मनी अर्थात पैसा, मिस इन्फरमेसन अर्थात् भ्रामक सूचना र एमसीसी अर्थात् आचारसंहिताको उल्लङ्घन मुख्य चुनौती रहेको बताउनुभएको हो । चुनावअघि वा चुनावपछि हुन सक्ने रक्तपात र हिंसा नियन्त्रणको प्रयास गरिरहेपनि चुनौती रहेको उहाँको भनाई छ ।

यस्तै, पैसाको खोलो बगाएर मतदाता किन्ने विषय पनि ठूलै चुनौती रहेकाले हरेक प्रदेशमा विशेष युनिट गठन गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जाल र मिडियामार्फत गलत सूचना दिएर अफवाह फैलाउने जोखिम रहेको आयोगले जनाएको छ । यदि कसैले आलोचनाको रेखा पार गरेमा वा गलत सूचना र समाचार फैलाएमा पोष्ट हटाउन लगाउनेदेखि पक्राउ गरेर कारबाही गर्नेसम्मको तयारी छ ।

यस्तै, चुनावको समयमा घृणापूर्ण भाषण, व्यक्तिगत टिप्पणी, गलत जानकारी सहितको प्रचारप्रसार रोक्नुपर्ने देखिएको आयोगले जनाएको छ । भारतमा पाँच सय ४३ सिटको लागि चुनाव हुन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

भाजपाले मोदीलाई नै तेस्रो पटक प्रधानमन्त्रीको उम्मेदवार बनाएर प्रचार प्रसार गरिरहँदा विपक्षी गठबन्धनले भने प्रधानमन्त्रीको उम्मेदवार तय गरेका छैनन् ।

कांग्रेस आईका नेता राहुल गान्धीलाई विपक्षीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ । सन् २०२४ को लोकसभा चुनावमा ९७ करोड जना मतदाता छन् भने १० लाख ५० हजार मतदान केन्द्र छन् । १५ लाख जना चुनावी कर्मचारी र ५५ लाख वटा भोटिङ मेसिन हुनेछन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया