मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा ७० वटा मठमन्दिर भत्किने

 चैत ७, २०८० बुधबार १५:५४:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै १२ वटा मन्दिर र दुई वटा पार्क भत्किने छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै ३४ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भइरहेको रेना आरडीइटी–एस कन्सल्टटेन्सीका परामर्शदाता कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरको मुआब्जाका लागि मूल्याङ्कन भइसकेकाले सम्बन्धित समूहले वडाको सिफारिस, समूहको माइन्युट र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजनासमक्ष पेस गर्नुपर्ने छ । पश्चिम सडक खण्डअन्तर्गत दुई लेन रहने छ किलोमिटर दूरीमा 'अस्पाल्ट' प्रविधिको कालोपत्र सम्पन्न भएको छ ।

अहिले पश्चिम खण्डकाे भौतिक प्रगति १८ प्रतिशत पुगेको छ । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७८ सालमा भदौदेखि काम शुरु भएको यस खण्ड २०८१ साल भदौ १२ गतेसम्म सक्नुपर्ने सम्झौता छ । सडक विस्तारको पूर्वी खण्डमा ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । यो खण्ड २०८१ साल वैशाखसम्म सक्नुपर्ने छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया