बालबालिकालाई हजुरबुबा–हजुरआमासँग राख्दा पुरस्कार दिए सरह हुन्छ

 चैत ८, २०८० बिहिबार १६:१२:४२ | बासु आचार्य
unn.prixa.net

बालबालिकाका लागि अभिभावकत्व सबैभन्दा महत्त्वपूर्ण हुन्छ । बच्चा कस्तो बन्दैछ अथवा कसरी अगाडि बढ्दैछ भन्ने कुरा अभिभावकत्वले नै निर्धारण गरेको हुन्छ । बच्चाकाे प्रस्तुति, नैतिकता, भावना, नियमन गर्ने क्षमता, संज्ञानात्मक तथा वैचारिक विकास, कुनै पनि विषयवस्तुमा उसले लगाउने अर्थ, साथीसँगको सम्बन्ध, पढाइसहित जीवन जगतलाई बुझ्ने क्षमतालगायतले उसकाे विकासमा निर्धारण गर्छ । साथै अभिभावकत्व कस्तो हुन्छ र उनीहरूले आफ्नो बच्चालाई कसरी बुझेका छन्, यो बुझाइबाट बच्चाले आफ्नो अभिभावकले गर्ने व्यवहार गरेको छ कि छैन भन्ने कुराले पनि बच्चाको विकासमा निर्धारण गर्छ ।

अभिभावकले अन्य कामका लागि बढी समय खर्च गरिरहेका हुन्छन् तर आफ्नो बच्चालाई दिने समय नै हुँदैन । दिउँसो विद्यालय पठाइदियो, त्यसपछिका समयमा बच्चा चौघेराभित्र हुन्छ । उसलाई घरभित्रै कोठामा सीमित गरी टेलिभिजन, मोबाइल दिएर भुलाएको पाइन्छ । बिहान र बेलुकाको समयमा पनि अभिभावकले बच्चालाई मोबाइललगायतका उपकरण थमाइदिएर आफ्ना काम गरेका हुन्छन् । विशेषतः अहिलेको समयमा बच्चाले हेरचाह पाएका छैनन्, मुखले पाए पनि व्यवहारले नपाएको देखिन्छ ।

बालबालिकाका शारीरिक विकास मात्रै सम्पूर्ण विकास होइन । विकास भनेको हरेक पक्षमा भावनात्मक, वैचारिक, नैतिक, हरेक विषयवस्तु सहन सक्ने, स्वीकार्न सक्ने, आफ्नो परिस्थितिअनुसार ढाल्न सक्ने हुनुपर्छ । अहिले बच्चा खाना खाने र विद्यालय जाने मात्र भएको छ । यसबाट बच्चामा अभ्यास र सिकाइ हुँदैन । बच्चासँग आफ्नो साथी, आफन्त, घरका हजुरबुबा हजुरआमा, समाज समुदायसँग कुनै पनि विषयवस्तुलाई सिक्ने क्षमता हुन्छ । यदि बच्चासँग सामग्री नै पुगेन भने क्षमताले मात्रै केही गर्दैन । क्षमता अभिवृद्धि गर्ने वातावरण नबन्दा उसको भविष्यमा असर पर्छ ।

बच्चाको रिस एक प्रकारको भावना

बच्चामा रिस बाँड्नुको पनि कारण छ । उसलाई कुन अनुशासनमा राखेका हुन्छौँ, कति दिने–नदिने, भन्ने–नभन्ने, सिकाउने–नसिकाउने, कति घेरामा राख्ने भन्ने आधारले भावना नियन्त्रण हुन्छ । रिस पनि एक प्रकारको भावना हो । जन्मजात भावना चाहिँ बच्चाले कुनै विषयमा सामाना गर्न नजानेपछि अनावश्यकरूपमा र जरुरी नभएको ठाउँमा रिस देखाउँछ । रिस देखाउने बच्चा स्वस्थ मानिन्छ भने उसको रिस चाहिँ अस्वस्थ हो । किनकि कुन समयमा कति रिस देखाउने र त्यो रिसको परिणामस्वरूप के नतिजा निकाल्ने भन्ने आधारमा हामीले रिसको उजागर गर्ने हो । आफूले भनेको सामान नपाउँदा, भनेको ठाउँमा घुम्न जान नापाउँदा, चाहेको खाने कुरा नपाउँदा बच्चा रिसाएको छ भने त्याे अस्वस्थ्य रिस हो । अस्वस्थ्य रिसले उसको भविष्य पनि अस्वस्थ्य बनाउँछ । अस्वस्थ सिकाइ निर्धारण गर्ने भएकाले रिस नियन्त्रण नभएसम्म बच्चाको व्यक्तित्व विकास राम्रोसँग हुन सक्दैन ।

यदि बच्चाले कुनै पनि विषयलाई कसरी अर्थ लगाउने भन्ने जानेको छैन भने त्यो अभिभावककाे समस्या हो । अभिभावकले बच्चालाई गर्ने व्यवहारले नै उसले यस्ता प्रतिक्रिया दिने गर्छ । कुनै पनि विषयवस्तुमा बच्चाले नराम्रो प्रतिक्रिया दिन्छ भने यसमा श्रीमान् र श्रीमतीको व्यवहार परिवर्तन हुन जरुरी छ । बच्चामा सकारात्मक परिवर्तन आएन भने उसलाई अभिभावकले समय दिने, हात र खुट्टा चल्ने प्रकारका खेलमा सहभागी गराउनुपर्छ । अभिभावक प्रत्यक्ष सहभागी भएर गृहकार्य गराइदिने, बच्चाको मामाघर, हजुरबुबा, हजुरआमा, नातेदारकहाँ लगिदिने, व्यावहारिक एवम् सामाजिक बन्नेतिर उत्प्रेरित गराउनुपर्छ ।

'बान्डुरा' को सिन्द्धान्तअनुअनुसार समाजबाट बच्चाले सिक्छ । कुनै पनि बच्चाको सिकाइ यत्तिकै पढेको भरमा हुँदैन । सिकाइमा समाजको भूमिका ठूलो हुन्छ । अझ समाजसँगै संस्कृतिबाट बढी सिक्छ भनेर ‘भेवत्की’ नाम गरेका विद्वानले भन्नुभएको छ । संस्कृतिसँग जोडाइएन भने बच्चा पछि गएर असामाजिक र सङ्कुचित स्वभावको हुन्छ । बच्चालाई यस्ता व्यवहार सिकाइएन भने पछि गएर असहज परिस्थिति सामना गर्नुपर्दा व्यवस्थापन गर्न गाह्रो हुन्छ ।

अभिभावकले नबुझ्दा बालबालिकामा नकारात्मक असर पर्न सक्छ

बालबालिका र किशोरावस्थामा परिवारले राम्रोसँग नबुझ्दा रिसाउने, झर्किने र परिवारसँग बिस्तारै छुट्टिने सम्भावना हुन्छ । साथीसङ्गी र बाहिरको वातावरण प्यारो हुन थाल्छ । साथी नै उसका लागि सबैथोक भएको महसुस हुन्छ तर परिवारलाई त्यो देख्दा बच्चा गलत निस्कियो भन्ने लाग्छ । त्यसपछि बच्चा भ्रमित हुन्छ । उसले साँच्चै आफू जान्ने कि नजान्ने, असल कि खराब अथवा आफ्नो भूमिका के भनेर अन्योलमा पर्छ ।

बच्चा बाहिरको वातावरणमा प्यारो भएको कुरालाई परिवारले पनि मान्नुपर्छ । यो समयमा बच्चाको सामान्य विकासोन्मुख समस्या हो । यस्तो अवस्थामा उसलाई हेरचाह गर्ने, सुन्ने र आलोचना नगरि उसलाई थप विकास गर्न भूमिका खेल्दिनुपर्छ । अन्यथा बच्चा पछि गएर परिवार नै नचाहिने प्रकारको हुँदै जान्छ । छिट्टै अप्ठेरो परिस्थितिमा बस्दिने र उस्तै परे पढाइ जरुरी छैन, विवाह गर्छु भन्ने प्रकारका व्यवहार देखाउन सक्छ ।

‘जति बढी परिवार नजिक भयो त्यति बढी बच्चा परिवारसँग नजिक जान्छ, परिवार जति टाढा गयो बच्चा उति टाढा जान्छ’ भन्ने एउटा सिद्धान्त छ । यो सिद्धान्तअनुसार बच्चा यस्तै हुँदै जाने भएकाले नजिकपनामा, समर्पणमा, माया सद्भावमा, उसका कुरा सुन्नमा, उसले भोगिरहेको अनुभूतिलाई अभिभावकले बुझिदिनुपर्छ ।

बच्चामा पनि पछि परिपक्कता आउँछ । विकास र परिपक्कताको सिलसिलमा आफूले भोगेका समस्या त्यो बेला सामाना गर्न नसकेको कुरा हामी बिर्सिन्छौँ । हामी पनि त्यो बेला समस्याको व्यवस्थापन गर्न नसकेर बुबाआमासँग रिसाउँदै साथीसङ्गीसँग नजिक भएका थियौँ । बिस्तारै पढाइमा कमजोर हुन थालेका कुरा हामी बिर्सिन्छौँ ।

बालबालिकालाई हजुरबुबा–हजुरआमासँग राख्दा पुरस्कार दिए सरह हुन्छ

बच्चालाई हेरचाह गर्नुपर्छ भन्दै उल्टो गाली गर्दिने, झर्किदिने, नमिठो व्यङ्ग्य गर्दिने, बच्चाका कुरालाई लिएर बुबा–आमा रिसाउने वा झगडा गर्दिने गर्नु हुँदैन । बच्चाको अगाडि झगडा गर्दा उसको दिमागमा नकारात्मक प्रभाव पर्छ । यस्ता कुरालाई हामीले पूर्णरूपमा निषेध गर्नुपर्छ । अन्यथा बच्चाले त्यही कुरा सिकेर यी मेरा होइन रहेछन्, म त अलग रहेछु भन्ने महुसुस गर्न सक्छ ।

समाज अथवा घर ‘एकलता’ मा जाने कि ‘सामूहिकता’ मा जाने भन्ने हुन्छ । विभिन्न कारणले बिस्तारै समाज एकलतातर्फ उन्मुख भएको छ । दैनिकी, घरपरिवारसँग सबन्धी, सहरीकरणको आधारमा, आर्थिक, राजनीतिक, वैदेशिक पक्ष धेरै कारण हुन्छन् । त्यसैले हाम्रो समाज एकलतर्फ गइरहेको छ । विशेषत छोराछोरी आमाबुबातर्फ मात्र उन्मुख छन् ।

हामी पहिले हजुरबुबा–हजुरआमासँग हुर्कियौँ । फुपूलगायत नातेदारको भेटघाट, सानीआमा, ठूलीआमा लगायतसँगको सङ्गत हुन्थ्यो । वल्लोघर पल्लोघर गर्थ्याैँ । अहिले नातेदार भेट्न अलि पर जानु पर्छ । उस्तै पर्‍याे भने पूर्वदेखि पश्चिम जानुपर्छ । अब संस्कृति, धर्म, सभ्यता हरेक रहनसहन रीतिरिवाजबाट बालबालिका टाढा हुँदै गए ।  हजुरबुबा–हजुरआमासँग राख्दा बच्चालाई पुरस्कार दिए सरह हुन्छ ।

बालबालिका आफैँ अनलाइन माध्यमबाट खेलिने खेलतिर रमाउन थालेका कारणले पछि उसको खुसी हुने आधार हट्दै जान्छ । बच्चा चञ्चले स्वभावको हुन्छ । आफ्नो खुसीका लागि साथीसँग जाने, कुलतमा फस्ने जोखिम हुने, पढाइमा केन्द्रित हुन नसक्ने भएकाले अभिभावकले पहिलो प्राथमिकता आफ्ना बच्चालाई दिनुपर्छ । अभिभावकत्व नहुँदा अहिले विभिन्न घटना भइरहेका छन् ।

परिवारमा धेरै सदस्य र कम सदस्य हुँदाका फरक

परिवारमा धेरै सदस्य नहुँदा बच्चा खुलारूपमा हुर्किन सक्दैन । कतिपय घरमा आमा र ठूलीआमा नै राम्रोसँग बोल्न नसक्ने स्थिति छ । दाजुभाइ, बुवा र ठूलोबुबाकै झगडा परेको देखिन्छ । हजुरबुबालाई कसैले गन्न छाडिसके ।

संस्कारमा हाम्रो परापूर्वकालदेखिको मनोविज्ञान कसरी अगाडि बढाउने भन्ने हुन्छ । अहिले मानिससँग पैसा हुने भएकाले अल्छी हुँदै गएका छन् । आफूभन्दा ठूलालाई स्वीकार्न नसकेको देखिन्छ । यो संस्कारले अगाडि बढ्यो भने बच्चा समूहमा टिक्न सक्दैन अनि झगडा देख्न सक्दैन । झगडा देख्न नसकेपछि अभिभावकत्वले बच्चालाई अवरोध बनाउँछ । हाम्रा हजुरबुबा–हजुरआमामा जस्तोसुकै समस्यामा पनि धैर्य गर्ने क्षमता थियो तर अहिलेका बच्चा सानो कुरामा आत्तिएको देखिन्छ । बच्चामा छिट्टै नकारात्मक सोचको विकास भएको देखिन्छ ।

परिवारमा ज्येष्ठ नागरिक हुँदा बच्चाको सिकाइमा सहयोग

ज्येष्ठ नागरिकका हरेक कुरामा परिपक्कता हुन्छ । भोगाइमा, अभावमा, सङ्घर्षमा विषयवस्तुलाई व्यवस्थापन गर्न सक्ने उपाय उनीहरूमा हुन्छ । भोटो धेरै फटाएकाले पनि, समय, उमेरका हिसाबले परापूर्वकालदेखि अलिहेसम्मका सबै विषय उनीहरूलाई याद हुन्छ । त्यो बेलाका धर्म, संस्कृति, सभ्यता, आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक विषय जानेको परिपक्क भएको व्यक्तिको अगाडि बच्चालाई राख्दा सिकाइका हिसाबले सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

हजुरबुबा–हजुरआमासँग बस्दा बच्चाले माया पाउँछन् । आफूले बच्चा उमेरमा भोगेका कुरा र त्यो बेला के गर्नुपर्छ भन्ने सिकाइ उपयोगी हुन्छ । बच्चाले कथा, अनुभव सुनेर प्राकृतिक हुँदै जान्छ । यस्ता कुराबाट टाढा राखियो भने बच्चा अप्राकृतिक हुँदै जान्छन् । उपकरणमा बाहेक अन्त उसको ध्यान जाँदैन । अभिभावकले बच्चाबाट लगनशिलता, मेहनत, ऊर्जा सबै खोसिकेका छन् । त्यसैले उसले आफ्ना अभिभावकलाई पत्याउँदैन । पुराना मान्छेको कुरा पनि पुरानै हुन्छ भन्ने हुन्छ । उसले मेहनत गर्न नजानेर गरेको होइन नसिकाइदिएर नगरेको हो । बच्चाले मेहनत भुलिसक्यो । यस्तो बनाइएको छ कि बच्चाको मागलाई तत्काल पूर्ति गर्न सकिएन भने फर्काउनै गाह्रो छ । उसलाई संस्कारको विकास नगरेका कारण यसो भएको हो । यो कुरा बुझाइ दिनुपर्छ ।

बुबा–आमाले हजुरबुबा–हजुरआमाप्रति गरेको व्यवहार देखेका कारण अहिलेका बच्चाले हजुरबुबा–हजुरआमालाई टाढाको महसुस गर्न थालेका छन् । बच्चालाई उनीहरू चाहिँ अलि टाढाका, अलि नजान्ने, उनीहरू हामीलाई जरुरी छैनन् भनेर अभ्यास गराइएको छ । आफ्नो संस्कृति, सभ्यताअनुसार जिन्दगी चलाउनुपर्छ भनेर सिकाइन्छ । तर अभ्यासमा पश्चिमा संस्कृति हाबी गराएको पाइन्छ । हाम्रो परापूर्वकालकै संस्कृति, सभ्यतामा अगाडि बढाइयो भने हजुरबुबा–हजुरआमा हामीलाई देउता समान हुन् । उनीहरू प्रमुख अभिभावकत्व गराउने व्यक्ति हुन् भन्ने सभ्यता सिकाउन प्रयत्न गर्नुपर्छ ।

हजुरबुबा–हजुरआमालाई माया गर्नु, प्रेम गर्नु, उनीहरूको कुरा सुन्नु, नैतिकताका हिसाबले, पौराणिकताका हिसाबले, संस्कृतिका हिसाबले संस्कृति, सभ्यता, धर्म, रीतिरिवाज, चालचलनका हिसाबले गर्न थालियो भने बच्चाले सिक्ने नै त्यही हो । यो अभ्यास गर्न जरुरी छ ।

बालबालिका, बुबा–आमा, हजुरबुबा–हजुरआमाबीच कुराकानी गराइयो भने बालबालिकाको क्षमतामा विकास हुन्छ । हरेक असफलतामा स्वीकार्न सक्ने बनाउँछ । हजुरबुबा–हजुरआमा छन् है भन्दै बच्चा आफ्नो प्रगतिपथमा लम्किन सक्छ । असल संस्कारमा हुर्किएको भन्न पनि सक्छ ।

हजुरबुबा–हजुरआमा गाउँमा, बुबाआमा सहरमा हुँदा बच्चाको खालीपना कसले भर्न सक्छ ? हाम्रो पुरानो संस्कार अवलम्बन गरिएन भने बच्चा पश्चिमी संस्कारअनुरूप एक्लै हुर्किने, विवाह गर्ने–छाेडपत्र गर्ने, अनि यस्तै रहेछ जिन्दगी भनेर स्वीकार्ने हुन सक्छ ।

हाम्राे गाउँ केन्द्रित, परिवार केन्द्रित नबनेकै कारण पुराना कहानी बिस्तारै हराउँदै जान थाले । अबको बच्चाका लागि ती कुरा एकादेशको कथा हुन्छ । अहिले बच्चालाई धान कहाँ फल्छ भनेर सोध्दा बोरामा भनेजस्तै हुन्छ । त्यसैले यो रोक्नु चाहिँ अबको हाम्रो दायित्व हो । हामीले पुलको काम गर्नुपर्छ । यसका लागि हजुरबुबा–हजुरआमा र बच्चा सँगै राख्दिनु पर्छ । साथै नातेदारसँग पनि बच्चालाई भेटाउनु पर्छ । कुराकानी गराउनु पर्छ । कमसेकम शनिवार मात्र भए पनि आफ्ना नातेदार कहाँ बच्चालाई लैजाने गर्नुपर्छ ।

यसले बिस्तारै बच्चा स्वदेशी हुँदै माटो केन्द्रित, गाउँ संस्कृति र पुर्खा केन्द्रित हुन्छ । होइन भने बच्चा यसअघि भनेजस्तै एकल भैदिन्छन् । एक्लो भएपछि उसलाई माया कम हुन्छ । पछि गएर जीवनसाथीकै माया कम हुन्छ । आफू जुन संस्कारमा हुर्कियो त्यही संस्कारमा छोराछोरी हुर्काउने भएकाले अभिभावकले समाजलाई कता लैजाने भन्ने विचार गर्नुपर्छ ।

(मनोविश्लेषक आचार्यसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १५, २०८१

बासु आचार्य

आचार्य मनोविश्लेषक हुनुहुनछ । 

तपाईको प्रतिक्रिया