सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी डाक्टरसहितको टोली

 चैत १०, २०८० शनिबार १५:२:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  - हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी डाक्टरसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु शुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन ठाउँमा पठाएको हो ।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिनुभयो । मनाङ गाउँमा खटिएको टोलीले हिजो शुक्रवारदेखि काम थालेको छ ।

सोलुखुम्बुमा खटिएको टोलीलाई भने काम गर्न केही दिन लाग्ने प्रमुख कार्यकारी अधिकृत बस्यालले बताउनुभयो । हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको सङ्घले जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा समेत स्वास्थ्य शिविर राखेर पदयात्रीलाई सेवा प्रदान गर्दै आएको छ ।

सङ्घका अध्यक्ष डम्बर पराजुलीले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताउनुभयो ।  टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया