आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

 चैत ११, २०८० आइतबार ७:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ ।

सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भोलि सार्वजनिक बिदा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।

केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै आएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर चार, पाँच वर्ष यता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द  भएको छ ।

फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न यो पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ । होली लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको, मोबाइल गस्ती तथा सादा पोशाकमा पनि प्रहरी खटिएका नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिनुभयो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागू पदार्थ खाएर गाडी नचलाउन पनि प्रहरीको आग्रह छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया