काठमाण्डौ महानगरबाट दश जना स्रष्टा जनही १ लाख ५० हजार पुरस्का...
मंसिर २९, २०८१ शनिबार
रमेश क्षत्री /पोखरा
देश छोड्ने मन कसैलाई पो हुन्छ होला र ! आफ्नै देशमा बसेर काम गरौं र आफ्नै परिवारसँग बसौँ भन्ने चाहना हुन्छ । मैले पनि देशमै बसेर काम गरौं, परिवार चलाऔं र आनन्दले बसौं भनेर सोचेको हो । तर, देशमा बसेर परिवार पाल्न नसक्ने भएपछि विदेशिने भन्दा अर्को उपाय नभएझैं लाग्यो ।
मैले पनि आफ्नो आर्थिक स्थिति उकास्ने अरु कुनै विकल्प नदेखेपछि वैदेशिक रोजगारीको लागि सिसेल्स आएको हुँ । मेरो घर पोखरा हो । म कामका लागि विदेशमा भए पनि नेपालमा भइरहेका गतिविधिबारे जानकार रहने गर्छु । देशबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको देख्दा पीर लाग्छ ।
सामाजिक सञ्जालमा पनि एयरपोर्टबाट विदेश जानेहरुको लर्को देख्दा निराश लाग्छ । हामी कहाँ के गर्न जाँदैछौं ? हामी नेपालीको भविष्य कस्तो होला ? सोच्दा मन कटक्क खान्छ । आफ्नो र परिवारको सपना एउटा पोल्टामा पोको पारेर युवा विदेशिएको देख्दा, किन देशको जनशक्ति देशमा नै परिचालन हुन नसकेको भन्ने लाग्छ ।
हुन त कसलाई पो आफ्नो परिवार दुःखमा रहेको देख्न मन हुन्छ र ? म पनि तिनैमध्येको एक हुँ । वीर गोर्खालीको सन्तान हामी आज कस्तो परिस्थितिमा फसेका छौंँ - देशबाट टाढा । परिवारबाट टाढा ।
देश र परिवारबाट टाढा बस्दाको पीर विदेशिनेलाई मात्र थाहा हुन्छ । आज विदेशिनु हाम्रो बाध्यता हो । भोलि के होला थाहा छैन । हामी परदेशमा रहेकाले सरकारलाई देशमा स्वरोजगार सृजना गर्न घच्घच्याइरहेका छौं । हामीलाई थाहा छ, हाम्रो जमिन कृषिको लागि उर्वर छ । यहाँ आधुनिक खेती गर्न सकेमा युवा जनशक्ति देशमै परिचालन गर्न सकिन्छ ।
हामीले विदेश जानका लागि सीप सिक्न सक्छौं भने देशमै काम गर्न पनि त सीप सिक्न सक्छौँ नि ! सरकारसँग मेरो याचना-सीपमुलक शिक्षा शुरु गरिदियोस् ताकि हामीले देशमा नै आफ्नो सीप देशमै लगानी गर्न सकौं । आफ्नो परिवारसँगै बाँच्न सकौं ।
हाम्रो सन्तति विदेशिनु नपरोस् । उनीहरु हाम्रो देशका कर्णधार हुन् । हामी हाम्रो देश सुन्दर बनाउने परिकल्पना गर्छौं । तर, भविष्यका कर्णधार नै विदेशिने अवस्था रह्यो भने देश राम्रो हुन कसरी सम्भव छ ?
त्यसैले सरकारले यसबारे सोचोस् - मेरो अनुरोध !