जनकपुरमा आज र भोलि ‘श्रमाधान रोजगार मेला’

 जेठ १९, २०८१ शनिबार ८:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मधेश प्रदेशको जनकपुरधाममा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवम् मेलाका मधेश प्रदेश संयोजक दीपेन्द्र पौडेलकाअनुसार मेलामा रोजगारीसहितका स्टल रहने छन् ।

कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको संयोजक पौडेलले बताउनुभयो । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी स्टल रहनेछन् ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टल रहनेछन् । कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ ।

सरकारले सातै प्रदेशमा आयोजना गरेको मेलाअन्तर्गत मधेश प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने भएको हो । हरेक प्रदेशमा दुई÷दुई दिन सञ्चालन हुने मेला अस्ति १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको छ । विराटनगरमा अस्ति र हिजो मेला भएको थियो ।

आज र भोलि जनकपुरमा हुनेछ । यस्तै गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।

तपाईको प्रतिक्रिया