वर्षौंदेखिको बाँझो बारी फेरि फोरिन्छ

 बैशाख १५, २०७७ सोमबार १९:१९:२६ | मेरो कथा मेरो भोगाई

रोशन ठकुरी, हाल/साउदी अरेबिया ।

यतिबेला खाडीमा के छैन ? सबथोक छ । डर छैन कि ? ज्यानको माया छैन कि ? परिवारको माया छैन कि ? आफ्नै देश प्रेमले मन भरिएको छैन कि ? साँच्चै भन्दा यो बेला मनमा सबथोक छ ।

पहिले आफ्नो ठाउँठाउँमा, देशमा रोजगारीको बाटो नदेखेर परदेशीएका म जस्ता धेरैको यतिबेला मनमा आफ्नै देशमा केही आँट पनि छ । मन त उहिल्यै उडेर गाउँ आइसक्यो । के के योजना बुनिसक्यो । सपनामा भविष्य सुन्दर देखिइक्यो । तर बस ज्यान उडेर जाने बाटो बन्द छ ।

सङ्क्रमितको सङ्ख्या हेर्ने हो भने खाडीका अरु देशको तुलनामा साउदीमा सबैभन्दा धेरै छ ।

तर भाग्य नै भन्नुपर्छ नेपालीको सङ्ख्या धेरै छैन।

यो कुराले पनि कोरोनासँग लड्न मन थप बलियो भएको छ । तर अवस्था त विरक्त लाग्दो छ । कर्फ्यु छ । काम छैन ।

अघिपछि निधारको पसिना कुर्कच्चाबाट तरतरी चुहिनेगरी खेटेको ज्यान अहिले कोठामा थुनिएको छ ।

तर कहिलेसम्म ठेगान छैन । खाद्यान्न महङ्गो हुँदैछ । कतिपय साथीहरुलाई त खानबस्नको समेत समस्या हुन थालिसकेको छ ।

कतिपय भने जोखिम उठाएर भए पनि काम गर्दै हुनुहुन्छ । के गरौं ? काम नगरौं परदेशको नियम, काम गरौं कोरोनाको जोखिम । सबै परदेशीको मन यतिबेला अत्यास र डरमै बितेको छ । मलाई पनि डर लाग्छ सम्झँदा त ।

तर फेरि सोच्छु, ज्यान सद्दे भए त विदेशमा सिकेको सीप र ज्ञान आफ्नै ठाउँमा लगाइन्छ । वर्षौंदेखिको बाँझो बारी फेरि फोरिन्छ । कृषिमा क्रान्ति गरिन्छ । केही नहोस् । सकुशल घर फर्कन पाउँ ।

 

तपाईको प्रतिक्रिया